Swornakshar Logo

सत्ता बाहिरका कम्युनिष्टहरुको गर्जनः ओली–प्रचण्ड चाँडै कस्टडीमा उभिनेछन्

८ मंसिर । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले नेतृत्वले आज राजधानीमा गरेको आम सभामा सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल‘‘प्रचण्ड’ नेतृत्वको सत्तासीन नेपाल कम्यनिष्ट पार्टी (नेकपा) बिरुद्ध खनिएका छन् ।


अर्धभूमिगत शैलीमा आफ्ना गतिविधि गदै आएको (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले यो राज्य व्यवस्थाबाट देश समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै जनसत्ताको आवश्यकता औल्याएका छन् र निर्णयक जनक्रान्ति गर्ने उद्घोष गरेका छन् ।

यसैबीच, विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौँको प्रर्दशनी मार्गमा जनसभा गरेको छ । मोहन वैद्य (किरण)सँग २०७१ मंसिर ८ गते अलग भएर पार्टी पुनस्र्थापना गरेको र जनयुद्धकादेखि मनाउदै आएको जनमुक्ति सेना स्थापना दिवसको अवसरमा आज जनसभा गरेको हो ।

जनताको अदालतमा उभिनुपर्नेछः प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली र प्रचण्डले आफूहरुविरुद्ध कुरुप रुपमा उत्रिएको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारभन्दा पनि बढी निर्मम रुपले आफूमाथि खनिएको आरोप लगाए ।

जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘ओली सरकार हाम्रोे पार्टीमाथी अघोषित प्रतिवन्ध लगाएर दमनमा उत्रिएको छ । हामी गलत हो वा सरकार, यसको जवाफ जनताले दिनेछन् । यो सरकारले यस्तै रुपमा हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउने छ ।’ प्रकाण्डले भने , ‘हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ । होइन भने सरकारले पुष्टि गरोस्, हाम्रो पार्टी देशद्रोही हो भनेर ।’

फरक प्रसङ्गमा उनले मोहन वैद्य ‘किरण’ ले क्रान्तिको नेतृत्व गर्न नसक्ने देखेर आफूहरु अलग भएको बताए । साथै उनले प्रचण्डको नेतृत्वमा देखिएको विचलनकाविरुद्ध लड्न र २०६२ ६३ को जनआन्दोनका बाँकी कार्याभार पुरा गर्न पार्टीको स्थापना गरेका दाबी गरे ।

उनले मुलुकमा यतिबेला चरम संकट उत्पन्न भएको जिकिर गरे । सो संकटलाई समाधान गर्न वर्तमान राज्य व्यवस्था र नेतृत्व असमर्थ रहेको प्रकाण्डले दाबी गरे । ओली सरकारले ९ महिनामा विकासको कुनै खाकासमेत तयार पार्न नसकेको बताउँदै उनले समृद्धको नारा लगाउनुको कुनै तुक नरहेको बताए ।

प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छः गोपाल किराँती

सो जनसभामा नेकपा माओवादी केन्द्रका संयोजक किराँती प्रचण्डविरुद्ध खरो रुपमा उत्रिए । उनले प्रचण्डले माओवादी आन्दोलनको विचार र इतिहासलाई तिलाञ्जली दिएको आरोप लगाए । उनले भने, ‘हामीले त्यो विचार र इतिहासलाई छोड्न तयार भएनौँ । बरु प्रचण्डलाई छोडेर हिँडियो ।’

उनले थपे,‘हिजो महान् भन्ने प्रचण्डमा आज विश्वका पूँजीपति र दलालले पाउने नोबेल पुरस्कारको आशक्ति बढेको छ । यो पुरस्कार कसले पाउँछ भने चीनका दलाइ लामाले पाउँछन्,’ उनले प्रचण्डको प्रवृत्तिको उछितो काड्दै त्यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताए ।

नेकपा भ्रष्ट–दलालहरुको एनजीओहरुको समूहः ऋषी कट्टेल

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा ५० वर्षको कम्युनिष्ट आन्दोलनमा पचासौँ पटक पुनःगठन दुःखद् भएको बताए । उनले अहिले पुनर्गठन आवश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नाम गरेको पार्टी भ्रष्ट–दलालहरुको एनजीओहरुको समूहले चलाएको गम्भीर आरोप लगाए ।

उनले भने, ‘प्रचण्ड र ओली समूहले नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीको सरकारविरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु संघर्षमा उत्रिनु परेको छ ।’
‘नेपाली क्रान्तिको बाटो भनेको बृहत कम्युनिष्टहरुको संयुक्त जनसंघर्षले तय गर्नेछ । अब क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छ । कम्युनिष्ट आन्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिन्छन्’, उनले भने ।