सन् १९२४ मा लेनिनको मृत्यु पश्चात सोभियत सङ्घमा स्टालिन युग प्रारम्भ भयो र उहाँको अगाडि सबैभन्दा ठूलो चुनौतीको रुपमा जर्मनीको नाजीवाद र इटालीको फासीवाद आयो । त्यो एउटा यस्तो काल थियो जतिबेला समग्र विश्व एउटा खतराजनक मोडमा पुगेको थियो । त्यो सङ्घर्षको इतिहासबारे विस्तृतमा नगइकन के भन्न सकिन्छ भने यदि स्टालिनको कुशल नेतृत्व नभएको भए संसारको एउटा ठूलो हिस्सा फाँसीवादको चेपुवामा पर्ने थियो । अर्को शव्दमा भन्ने हो भने रुसी क्रान्तिद्वारा उत्पन्न उर्जाले नै फाँसीवादलाई रोक्न प्रमुख भूमिका निभायो ।

सन् १९५० र १९६० को दशकमा अमेरिकी साम्राज्यवादको आक्रामक स्वरुप अगाडि आयो, जब भियतनाममा अमेरिकी सेनाहरु त्यो सानो देशलाई पूर्ण रुपमा ध्वस्त गर्न उद्यत थिए । त्यो एउटा यस्तो समय थियो, जब अमेरिकी साम्राज्यवादीहरुलाई समग्र दक्षिण पूर्व एसियामा साम्यवादको खतरा देखिन थालेको थियो र त्योसँग जुझ्नका लागि थरी–थरीका कोशिसहरु गरिरहेका थिए ।

अरब देशहरुमा समाजवादी चेतना अत्यन्तै तीब्र रुपले विकसित भइरहेको थियो । ती देशहरुमा समाजवादी विचारहरुले ‘इस्लामिक समाजवाद’ अन्तर्गत आफ्ना गतिविधिहरु तीब्र पारेका थिए ।

इजिप्टमा नासिरको नेतृत्वमा सन् १९५२ मा बेलायत समर्थक राजतन्त्र ढल्यो र एउटा स्वतन्त्र अरब समाजवादी गणराज्य स्थापना भयो । सन् १९५६ मा इजिप्टपछि अरब देशहरुमा सिरियाले समाजवादी विचारबाट प्रेरणा लियो र सोभियत खेमामा समावेश भयो । इजिप्ट र सिरियाले ‘बाथ समाजवाद’को नाममा एउटा सिद्धान्त दिइ र यसलाई आधार बनाउँदै सन् १९५८ मा ती दुई देशबिच एकता कायम भयो र संयुक्त अरब गणराज्यको स्थापना भयो । परन्तु विभिन्न कारणहरुले यो एकता लामो समयसम्म टिकिरहन सकेन ।

यो विचारधाराबाटै प्रेरित भएर अल्जेरियाका क्रान्तिकारीहरुले सन् १९५० को दशकमा फ्रान्सिसी उपनिवेशवादको विरुद्ध सङ्घर्ष सुरु गरे । उनीहरुले एफ.एल. एन. नामको राष्ट्रिय मुक्ति मोर्चाको गठन गरेर र फ्रान्सको विरुद्ध मुक्ति आन्दोलन सुरु गरे । सन् १९६२ मा फ्रान्सलाई अल्जेरिया छोड्नु पर्‌यो र एफ.एल.एन. स्वतन्त्र अल्जेरियाको पहिलो सत्तारुढ पार्टी बन्यो ।

यसकासाथै यमन, लिबिया, सोमालिया, सुडान र इराक आदि देशहरुमा पनि अत्यन्तै तीब्रतापूर्वक समाजवादी विचारको प्रसार भयो, जुन निश्चित रुपले सोभियत क्रान्ति र सो क्रान्तिबाट उत्पन्न त्यो उर्जाबाट प्रेरित थियो जसले फाँसीवादलाई परास्त गरेको थियो ।

यी सम्पूर्ण घटनाहरु समाजवादी विचारधाराको विरुद्ध पुँजीवादी विचारधाराको विश्वस्तरमा नेतृत्व गरिरहेको अमेरिकाका लागि एउटा चिन्ताको विषय थियो ।

म यहाँ इस्लामिक देशहरुमा समाजवादी विचारधाराको चर्चा यसकारण गरिरहेको छु कि आज विश्वस्तरमा जुन तथाकथित इस्लामिक आतंकवाद चर्चाको शिखरमा छ, मेरो विचारमा त्यसलाई मूलतः अमेरिकाले नै जन्म र प्रश्रय दिएको हो । यदि यस्तो दृष्टिले हेरियो भने यो समग्र विषय पुँजीवादको विरुद्ध समाजवादको लँडाईसँग सोझै जोडिएको छ ।

यहाँ म स्मरण गराउन चाहन्छु कि धेरै समय पहिले जब बाथ समाजवाद (बाथ सोसियालिज्म)को सुरुवात भएको थियो, त्यसका प्रतिपादकहरुले युरोपको उपनिवेशवादसँग अरब देशहरुका राजघराना र अरब समाजमा व्याप्त इस्लामिक कट्टरतालाई ‘जनताका शत्रु’ घोषित गरेका थिए । उनीहरु मौलाना तथा उलेमाहरु (इस्लामिक धर्मगुरुहरु)ले समग्र समाजलाई पछौटेपनको दलदलमा फसाइदिएको र त्यसबाट समाजलाई बाहिर निकाल्नु आवश्यक भएको मान्यता राख्दथे ।

सन् १९५५ मा इण्डोनेसियाको बादुङमा एक सम्मेलन भयो, जहाँ असंलग्न (गुट निरपेक्ष) आन्दोलनको स्थापना भयो । यो सम्मेलनको आयोजनामा इण्डोनेसियाका तत्कालीन राष्ट्रपति सुकार्नोको महत्त्वपूर्ण भूमिका थियो र यसमा भारतीय प्रधानमन्त्री जबाहरलाल नेहरु, इजिप्टका राष्ट्रपति नासिर, युगोस्लाभियाका राष्ट्रपति टिटो, घानाका राष्ट्रपति एन्क्रुमा लगायत सहभागी भएका थिए । बादुङ सम्मेलन भन्नका लागि त असंलग्न (गुट निरपेक्ष) राष्ट्रहरुको सम्मेलन थियो, तर यो अमेरिकी साम्राज्यवादको विरुद्ध पूरै केन्द्रित थियो । अमेरिकाले महशुस गर्यो कि उपनिवेशवादबाट भर्खरै स्वतन्त्र भएका एसियाली र अफ्रिकी देशहरुको झुकाव बामपन्थतर्फ बढ्दैछ । यो त्यही समय थियो जतिबेला भियतनामी जनताले फ्रान्सलाई पराजित गरेपछि अमेरिकी सेनाको विरुद्ध मोर्चा कसेका थिए ।

यसकासाथै इण्डोनेसियामा कम्युनिस्टहरुको अत्यन्तै बलियो प्रभाव थियो । अमेरिका चिन्तित हुनु स्वभाविक थियो किनभने संसारको सबैभन्दा ठूलो इस्लामिक देशमा सबैभन्दा ठूलो (चीन र रुसकोपछि) कम्युनिस्ट पार्टीको अस्तित्त्व एउटा खतराको घण्टी थियो । त्यो समय इण्डोनसियाको कूल जनसंख्या करिब ११ करोड थियो, जसमा कम्युनिस्ट पार्टीका सदस्यहरु र समर्थकहरुको संख्या लगभग ३ करोड थियो । त्यहाँको कम्युनिस्ट पार्टी (पिकेआई) का महासचिव ऐदित अत्यन्तै लोकप्रिय थिए र स्थानीय निर्वाचनमा अधिकांश सिटहरुमा कम्युनिस्ट पार्टीले जितेको थियो । राष्ट्रपति सुकार्नोको मन्त्रीमण्डलमा पनि पार्टीका केही सदस्यहरु सहभागी थिए ।

अमेरिकाले इण्डोनसियालाई आफ्नो प्रयोगशालाको रुपमा छान्यो । उसले त्यहाँका कट्टरपन्थी इस्लामिक तत्वहरुलाई सहयोग पुरायो र सुकार्नोका सेनाध्यक्ष जनरल सुहार्तोको सहयोगमा एउटा यस्तो योजना तयार गर्यो, जसलाई कार्यान्वयन गर्दै सन् १९५६–६६ को अवधिमा करिब ३० लाख कम्युनिस्टहरुको हत्या गरियो ।

‘इण्डोनेसियाली नरसंहार’को नामले कुख्यात यो काण्डको बारेमा सबै तथ्यहरु अहिले बाहिर आइसकेको छ कि कसरी दुर्गम गाउँहरुमा रहेका कम्युनिस्ट समर्थकहरुको सूची तयार गरिएको थियो, जुन सुहार्तोलाई बुझाइयो र जनरल सुहार्तोले कट्टरपन्थी इस्लामिक आतंकवादी गिरोहको मद्दतले यो सफाया अभियानलाई पूर्णता दियो । ८ जुन १९६६ मा अमेरिकाका तत्कालीन राष्ट्रपति लिन्डन जन्सनलाई पठाएको एउटा पत्रमा राष्ट्रपतिका विशेष सहयोगी वाल्टले लेखेका थिए – “इण्डोनेसियामा हाम्रो दिलचस्पी यो देशलाई कम्युनिस्टहरुबाट मुक्त बनाउनु र त्यसबाट इण्डोनसियाका कम्युनिस्टहरुलाई साम्यवादी चीनको प्रभावमा जानबाट रोक्नुमा थियो । सन् १९६५ भन्दा पहिला सुकार्नो सरकार तीब्ररुपले चीनको प्रभावमा गइरहेको थियो र त्योसँग अमेरिकाले जुझ्नै पथ्र्यो किनभने यसबाट फिलिपिन्स, दक्षिण चीन समुद्र, भियतनाम र थाइल्याण्डमा अमेरिकी सैनिकहरुको उपस्थितिका लागि खतरा उत्पन्न हुँदै गइरहेको थियो ।”

कम्युनिस्टहरुको पूरै सफाया गरिसकेपछि बिस्तारै–बिस्तारै सत्ताको बागडोर सुकार्नोको हातबाट खुस्किएर सुहार्तोको हातमा पुग्यो र तिस वर्षसम्म जनरल सुहार्तोको निरंकुश शासन कायम रह्यो । इण्डोनेसियामा कट्टरपन्थी तत्त्वहरुलाई सहयोग गर्ने प्रगतिशील तत्त्वहरु र वामपन्थीहरुको कत्लेआम गरेपछि अमेरिकाको प्रयोग सफल भयो । यसपछि उसले ठाउँ–ठाउँमा यसको प्रयोग दोहोरायो ।

अफगानिस्तानमा वामपन्थी ‘पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपि)’मा त्यहाँका कम्युनिस्टहरुका दुई गुटहरु ‘खल्क (जनता)’ र ‘परचम (झण्डा)’ सहभागी थिए । यो पार्टीले निरंकुश दाऊद शाहको सत्ता पल्टाइदिएको थियो र अफगानिस्तानमा एउटा समाजवादी गणतन्त्रको स्थापना भएको थियो । अमेरिकाले त्यहाँ विभिन्न तरिकाले कट्टरपन्थीहरु तत्त्वहरुलाई जुटायो, तिनलाई आर्थिक सहयोग गर्यो, ओसामा विन लादेनलाई जन्मायो र तालिबानको गठन गर्यो । यसबारे अब सबैलाई थाहा छ ।

फिलिपिन्समा कम्युनिस्टहरुको ‘न्यू पिपुल्स आर्मी’को विरुद्ध मुस्लिम बहुल क्षेत्रमा अबु सैयफ नामक एक आतंकवादीलाई अमेरिकाले खडा गर्यो र निजमार्फत फिलिपिन्समा कम्युनिस्टहरुको नरसंहारको प्रयत्न गर्यो ।

समग्र अरब देशहरुमा जहाँ जहाँ प्रगतिशील इस्लामका समर्थकहरु सत्तामा थिए, तिनीहरुलाई अत्यन्तै सुनियोजित तरिकाले कत्लेआम (सफाया) गरियो र कट्टरपन्थी इस्लामिक तत्त्वहरुलाई सत्तामा पुराइयो ।

संसारको एकमात्र हिन्दु राष्ट्र नेपालमा सबैभन्दा ठूलो माओवादी आन्दोलन हुनु अमेरिकाका लागि त्यतिकै खतराजनक परिघटना थियो, जति संसारको सबैभन्दा ठूलो इस्लामिक राष्ट्र इण्डोनेसियामा संसारको सबैभन्दा ठूलो गैरसत्ताधारी कम्युनिस्ट पार्टी रहनु । इण्डोनेसियामा कम्युनिस्टहरुको उपस्थितिलाई अमेरिकाले आफ्नो राष्ट्रिय हितका लागि खतरा भनेको थियो र त्यसरी नै अमेरिकाबाट हजारौँ किलोमिटर टाढा दक्षिण एसियाको सानो अन्त्यन्तै गरिब देश नेपालको माओवादी आन्दोलनलाई पनि उसले नेपालको राष्ट्रिय हितका लागि खतरा भनेको थियो ।

साभारः लेफ्टरिभ्यु डटकम