बाढी प्रभावितको घरमा सरकार पुगेको देखिएन : बोहरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी तथा बाढीप्रभावितलाई राहत उपलब्ध गराउने कार्यमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी तथ्याङ्कअनुसार रसुवामा ५ हजार १३० जना अझै बेपत्ता रहेको बताए।
उनले आफ्नो जिल्ला कञ्चनपुरमा २६ जना तथा आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा १४ जना बेपत्ता रहेको बताए। आफू पछिल्ला केही दिन निर्वाचन क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकको घरघरमा पुगेको बताए।
उनले प्रहरी र नेपाली सेनाका कर्मचारीको हकमा सम्बन्धित सङ्गठनले परिवारको जिम्मेवारी लिने आश्वासन दिएको भए पनि सर्वसाधारण कहाँ सरकारको उपस्थिति हुन नसकेको बताए।
उनले थपे, ‘सर्वसाधारणको कुरा गर्ने हो भने कहीँ पनि कोही पुगेको छैन। प्रशासनको मान्छे भन्छ, पालिकाका कर्मचारी पुगे होलान्, पालिका नगरप्रमुख पुगे होलान्। नगरप्रमुख भन्छ, सरकार आउँछ। कोही पनि छैन।’
उनले आफ्नो निर्वाचन क्षेत्रको एउटा उदाहरण पनि दिए।
उनले भने, ‘शुक्लाफाँटा–३ जोनापुरमा सुनिता डगौरा जो दुइटै मिर्गौला फेल भएको छ। उहाँको छोरा अभिषेक डगौरा लाङटाङ हाइड्रोमा बेपत्ता छन्। औषधि किन्दिने मान्छे छैन, बिहान–साँझ छाक कसरी टार्ने भन्ने चिज छैन, खाने व्यवस्था छैन। यो एउटा प्रतिनिधि घटना मात्रै हो। सबैको अवस्था यस्तै छ। सरकारले के गर्छ, कहाँ जान्छ, के भन्छ भन्ने हेर्न बाँकी छ।’

प्रतिक्रिया दिनुहोस्: