Bagmati Samachar Logo

ग्यास अभावविरुद्ध अखिल क्रान्तिकारीले ग¥र्यो देशभर सडक आन्दोलनको घोषणा

काठमाडौं । ग्यासको अभाव, कालोबजारी र दैनिक उपभोग्य वस्तुको चर्को महँगीले जनताको चुलो नै संकटमा परेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । जनताको भान्सामा संकट थपिँदा सरकार मौन बसेको आरोप लगाउँदै विद्यार्थी संगठनले अब सडकबाटै दबाब बढाउने चेतावनी दिएको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले जारी गरेको परिपत्रमार्फत प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस तथा पालिका समितिहरूलाई तत्काल आन्दोलनमा परिचालित हुन निर्देशन दिइएको छ । संगठनले जनजीविकाका सवाललाई केन्द्रमा राखेर विरोध प्रदर्शन, ज्ञापनपत्र, धर्ना र घेराउलगायतका संघर्षका कार्यक्रम सञ्चालन गर्न मातहतका कमिटीलाई आदेश दिएको छ ।

ग्यासको लाइनमा घण्टौँ बस्नुपर्ने अवस्था, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र कालोबजारीका कारण आम नागरिकको जनजीवन अत्यन्त कष्टकर बनेको अखिल क्रान्तिकारीको निष्कर्ष छ । संगठनले विशेषगरी गरिब तथा विपन्न परिवार सबैभन्दा बढी मारमा परेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेको छ ।

परिपत्रमा विद्यार्थी विद्यालय जाने कि ग्यासको लाइनमा बस्ने रु भन्ने अवस्थासम्म सिर्जना भएको उल्लेख गरिएको छ । घरको चुलो बल्न कठिन भएको, सुत्केरी आमाले समेत पेटभरि खाना खान नपाउने अवस्था आएको भन्दै संगठनले यसलाई सामान्य बजार समस्या नभई राज्यका लागि गम्भीर प्रश्न भएको बताएको छ ।

अखिल क्रान्तिकारीले सरकारलाई जनताको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकारप्रति जवाफदेही बन्नसमेत दबाब दिएको छ । महँगी नियन्त्रण, कालोबजारी अन्त्य र ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार तत्काल सक्रिय हुनुपर्ने उसको माग छ ।

त्यतिमात्र होइन, सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी नीतिका कारण सरकारी अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको भन्दै संगठनले उक्त व्यवस्था तत्काल अन्त्य गर्न माग गरेको छ । अस्पतालको सेवा प्रभावित हुँदा सर्वसाधारण नागरिक उपचारबाटै वञ्चित हुनुपर्ने अवस्था आएको अखिल क्रान्तिकारीको आरोप छ ।

अब आन्दोलनलाई स्थानीय जनताको वास्तविक समस्यासँग जोडेर अघि बढाउने उसको तयारी छ । परिपत्रमार्फत अधिकतम विद्यार्थी तथा जनसहभागिता सुनिश्चित गर्दै संघर्षलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिइएको छ । सम्पन्न भएका कार्यक्रमको विवरण, तस्बिर तथा आवश्यक प्रतिवेदनसमेत केन्द्रीय समितिमा पठाउन भनिएको छ ।

आन्दोलनका क्रममा अखिल क्रान्तिकारीले ‘ग्यास देऊ महँगी घटाऊ ।’, ‘कालोबजारी बन्द गर । ’, ‘सरकारी अस्पतालको सेवा नियमित गर ।’, ‘जनताको जनजीविकाको ग्यारेन्टी गर ।’ र ‘जनता बाँच्न पाउने अधिकार सुनिश्चित गर ।’ जस्ता नारा अघि सारेको छ ।

यससँगै महँगी र अभावको मारमा परेका नागरिकको मुद्दा बोकेर अखिल क्रान्तिकारी देशव्यापी रूपमा सडकमा आउने भएको छ । जनताको चुलो बल्न नसक्ने तर सरकार मौन बस्ने अवस्था स्वीकार्य नहुने भन्दै संगठनले देशभर आन्दोलन चर्काउने घोषणा समेत गरेको छ । यसै सन्दर्भमा आज आर आर क्याम्पस अगाडि विधार्थीहरुले दाउरामा खाना पकाएर खाना खाई ग्यास अभाव हुँदा समेत सरकार मौन बसेको भन्दै रचनात्मक विरोध समेत गरेको छ ।