बाढीप्रभावित नुवाकोट पुगेर राष्ट्रपति पौडेलले होल्डिङ सेन्टरमा रहेका पीडितसँग गरे कुराकानी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही १० भदौमा रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै, उनले नुवाकोटमा रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् ।
उनले नुवाकोटमा भोटेकोसीमा आएको बाढीको प्रभाव एवं त्यसबाट सिर्जित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले रसुवा बाढीले जिल्लामा पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावित रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका थिए । बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोसीमा आएको अकल्पनीय बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । साथै, खोज, उद्धार र राहत एवम पुनर्स्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताएका थिए ।
राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरे ।


प्रतिक्रिया दिनुहोस्: