एमालेमा ओली विरुद्ध एक हुँदै : निर्वाचन समीक्षा, पार्टी शुद्धीकरण र केन्द्रीय कमिटी बैठक माग
काठमाडौं । नेकपा (एमाले) भित्र नीति र पद्धतिमा सुधारको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान’ ले निर्वाचन समिक्षा, पार्टी शुद्धीकरण र केन्द्रीय कमिटीको बैठकको माग सहित ध्यानाकर्षण पत्र पार्टी कार्यालयमा दर्ता गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको उक्त पत्रमा पार्टीको नेतृत्वको कार्यशैली, चुनावी समीक्षा र साङ्गठनिक सुस्तताप्रति गम्भीर प्रश्न उठाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पाार्टी मुख्यालय च्यासलमा बुझाइएको ज्ञापन पत्रमा चुनाव सकिएको करिब ६ महिना पुग्न लाग्दा समेत केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुलाई गम्भीर र चिन्ताजनक भनिएको छ । निर्वाचनमा व्यहोरेको पराजयको वस्तुनिष्ठ समीक्षा गरी नयाँ उत्साह भर्नुपर्ने समयमा पार्टी नेतृत्वले बैठक टार्दै आएको टिप्पणीसमेत गरिएको छ ।
जनतामा निराशा बढेको दाबी
एमालेले जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘फागुन २१ गतेको जनादेशबाट बनेको सरकारप्रति जनतामा निराशा बढ्दै गएको देखिन्छ । सरकारका अन्योलग्रस्त नीति र शासन सञ्चालनमा देखिएको अपरिपक्वताले राष्ट्रिय हित र सुरक्षामा समेत चिन्ता बढाएको छ ।’
छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध झन् जटिल बन्दै गएको र जनताको दैनिक जीवन कष्टकर बनेको निष्कर्ष अभियानको छ । पार्टीद्वारा गठित ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ ले तयार पारिसकेको प्रतिवेदन सार्वजनिक नगरिएको र छलफलमा नल्याइएकोमा असन्तुष्टि व्यक्त गरिएको छ । कार्यदलले दिएका सुझावहरूलाई नेतृत्वले बेवास्ता गर्दा कार्यकर्तामा अन्योल र निराशा छाएको पत्रमा उल्लेख छ ।
अभियानका प्रमुख मागहरू
१. निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन तत्काल सार्वजनिक गरी छलफल चलाउनुपर्ने ।
२. केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक अविलम्ब आह्वान गर्नुपर्ने ।
३. निर्वाचनमा भएको पराजयको ‘निर्मम’ समीक्षा गर्नुपर्ने ।
४. पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचनाको स्पष्ट खाका निर्माण गर्नुपर्ने ।
५. कमिटी प्रणाली र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउँदै व्यक्तिभन्दा नीति र विधि प्रधान हुनुपर्ने ।
पुनर्जागरण अभियानले आफूहरू पार्टी फुटाउने नभई विधि र पद्धतिमा फर्काउने पक्षमा रहेको प्रष्ट्याएको छ ।
‘हामी विश्वास गर्छौँ, नेकपा एमालेको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टी भित्रैको विधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै सम्भव छ,’ पत्रमा भनिएको छ ।
केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीमार्फत् पार्टीमा पत्र दर्ता गराइएको छ । अभियानका अगुवाहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की , डा. सुरेन्द्र मानन्धर , बुद्दी परियार , नविना लामालगायत च्यासल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्: