Bagmati Samachar Logo

लगानी बोर्डको सिईओमा याङ्की उक्याब नियुक्त, यस्तो छ उनको पृष्ठभूमि

नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याबलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले बोर्डको सीईओका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

जसमा यांकीसहित मनोज पौडेल र जितेन्द्र धिताल थिए।

लगानी बोर्डको सीईओ नियुक्त उक्याब विकास अर्थशास्त्री हुन्। यसअघि लगानी बोर्डमै पराशर्मदाताको रुपमा काम गरेकी उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा परिचित छिन्।

उक्याबले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर तह अध्ययन गरेकी छिन्।

उक्याबले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रुपमा काम गरेको अनुभव छ। त्यसअघि उनी युएनडीपी नेपालमा विकास अर्थशास्त्री थिइन्।

लगानी बोर्डको परामर्शदाता हुँदा उनले ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीसम्बन्धी परियोजनामा संलग्न भएर काम गरेकी थिइन्।

उक्याबले आफ्नो व्यावसायिक यात्रा नेपालबाट सुरु गरेर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडीपी० को अन्तर्राष्ट्रिय विकास नीतिसम्म पुर्‍याएकी छन्।

उनले संयुक्त राष्ट्रसंघीय प्रणालीमा विकास अर्थशास्त्र, मानव विकास, आर्थिक उत्थानशीलता, जलवायु नीति, दिगो विकास र सामाजिक सुरक्षाजस्ता विषयमा काम गरेकी छन्। पछिल्लो समय उनी फिजीस्थित युएनडीपी कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्यरत थिइन्।

उनी फिजीस्थित युएनडीपी प्रशान्त कार्यालयमा पुगेपछि उनको काम साना टापुमा रहेका विकासशील राष्ट्रहरूले भोगिरहेका विशिष्ट आर्थिक तथा वातावरणीय चुनौतीसँग जोडियो। जलवायु परिवर्तन, प्राकृतिक विपद्, सीमित आर्थिक अवसर, वातावरणीय जोखिम र कमजोर संस्थागत क्षमता भएका यी मुलुकमा परम्परागत आर्थिक विकासको अवधारणा मात्र पर्याप्त हुँदैन। उक्याबको काम यही जटिलतालाई नीतिगत तहमा सम्बोधन गर्न केन्द्रित रह्यो।