Bagmati Samachar Logo

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यूबीच आगजनी र तोडफोड सुरू भएपछि नेपाली सेना परिचालन गरेको छ ।

देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको हो । आजै सुनसरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई काठमाडौं बोलाएको छन् ।

बिहानदेखि कर्फ्यू अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको सरकारले बताएको छ । बख्तरबन्द गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेको छ ।

दुई समुदायबीचमा आइतबार राति तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको छ, प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । कप्तानगञ्ज देवानगञ्ज हरिनगर क्षेत्रमा कर्फयू उल्लंघन गर्दै समूहसमूह बनाएर स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी झिकाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।