Bagmati Samachar Logo

सुनसरीको कप्तानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु, दर्जनौँ घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन्। घटनापछि प्रशासनले देवानगञ्ज र हरिनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

कसरी सुरु भयो विवाद ?

स्थानीयका अनुसार करिब एक महिनाअघि मोहरम पर्वका क्रममा सार्वजनिक स्थानमा राखिएको झण्डा हटाउने विषयमा दुई समुदायबीच लामो समयदेखि विवाद चलिरहेको थियो। सोही विषयमा आइतबार राति बोलबम यात्राका लागि डीजेसहित तयारी भइरहेका बेला अर्को पक्षले विरोध गरेपछि सामान्य भनाभन सुरु भयो। कप्तानगन्जको चोकमा राति करिब ९ बजे अर्को समूहका व्यक्ति आएर डिजेले डिस्टर्भ गरेको भन्दै अवरोध गरे । दुई पक्षबीच विवाद बढ्यो । केही समयमै विवाद झडपमा परिणत भएको बताइएको छ।

प्रहरी र प्रदर्शनकारीबीच झडप

विवाद बढेपछि नेपाल प्रहरी घटनास्थलमा पुगेको थियो। त्यसपछि स्थिति नियन्त्रणबाहिर जाँदा ढुंगामुढा हुन थालेको र थप सुरक्षाका लागि सशस्त्र प्रहरीसमेत परिचालन गरिएको प्रशासनको भनाइ छ। सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको बताइएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार करिब २५ राउन्ड फायर भएको उल्लेख गरिएको छ।

एक जनाको मृत्यु, कयौँ घाइते

गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मी गरी धेरै जना घाइते भएका छन्। घाइतेमध्ये केहीको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको छ।

सुरक्षा व्यवस्थामाथि प्रश्न

घटना हुँदा सुनसरीका प्रमुख सुरक्षा निकाय नेतृत्वविहीन रहेको तथ्य पनि सार्वजनिक भएको छ। जिल्ला प्रहरी प्रमुख बिदामा थिए भने सशस्त्र प्रहरीका जिल्ला प्रमुखको पद केही समयदेखि रिक्त रहेको उल्लेख गरिएको छ। यसले समयमै विवाद समाधान हुन नसकेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

कर्फ्यु र सेना परिचालन

घटनापछि जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। केही स्थानमा कर्फ्यु उल्लङ्घन भएपछि नेपाली सेनासमेत परिचालन गरिएको छ। अहिले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित छन्।

छानबिन सुरु

गृह मन्त्रालयले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको जनाएको छ। घटनाको वास्तविक कारण, गोली चलाउनुको अवस्था तथा सुरक्षा निकायको भूमिकाबारे अनुसन्धान भइरहेको छ।