डा. इन्द्रजित राईलाई ४ वर्ष कैद र ४० हजार जरिबाना
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका डा. इन्द्रजित राईलाई काठमाडौँ जिल्ला अदालतले आज (मंगलबार) ४ वर्ष कैद र ४० हजार जरिबाना तोकेको छ । तर उमेरहदका कारण उनले सजायमा छुट पाउने भएका हुन्। उनलाई मुख्य दोषीका रूपमा सजाय तोकिएको हो। अढाई महिनापछि छुट्ने भएका छन्।
उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको छ।
राईको हकमा उनी ७५ वर्ष नाघेकाले उनको ७५ प्रतिशत सजाय छुट हुनेछ। उनले पुर्पक्षमा बसेर ३ वर्ष २ महिना १० दिन भुक्तान गरिसकेका छन्।
बाँकी ९ महिना २० दिन कैदको हकमा छुट पाउँदा ७ महिना ७ दिन कैद छुट हुने भएको हो। त्यसैले अब उनले २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्ने भएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूको सजाय निर्धारण गरेको हो।


प्रतिक्रिया दिनुहोस्: