Bagmati Samachar Logo

अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं। बेल्जियमले आयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दै फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। सिएटलमा भर्खरै सम्पन्न अन्तिम–१६ को खेलमा चार्ल्स डे केटेलारेले दुई गोल गर्दै बेल्जियमको जितमा निर्णायक भूमिका खेले।

यो जितसँगै बेल्जियमले अब क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता अमेरिका भने सह–आयोजक क्यानडा र मेक्सिकोपछि अन्तिम–१६ बाटै बाहिरिने अर्को आयोजक टोली बनेको छ।

खेलअघि अमेरिकाका स्ट्राइकर फोलारिन बालोगनको एक खेलको प्रतिबन्ध सबैभन्दा ठूलो चर्चा बनेको थियो। बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएपछि उनीमाथि लागेको प्रतिबन्ध पुनरावलोकन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफासँग आग्रह गरेका थिए।

त्यसपछि फिफाले विवादास्पद रूपमा उक्त प्रतिबन्ध स्थगित गरेपछि बालोगन खेल्न पाएका थिए।

यस निर्णयको विश्वभरका समर्थक, पूर्वखेलाडी र फुटबल विश्लेषकहरूले तीव्र आलोचना गरेका थिए। तर सिएटल रंगशालामा भने बालोगनको नाम सुरुआती टोलीमा घोषणा हुँदा समर्थकहरूले ठूलो उत्साहका साथ स्वागत गरेका थिए।

बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले केभिन डे ब्रुयन र जेरेमी डोकुजस्ता स्टार खेलाडीलाई बेन्चमा राख्दै केही अप्रत्याशित निर्णय गरेका थिए। तर उनको रणनीति सफल सावित भयो।

खेलको नवौं मिनेटमा निकोलस रास्किनको क्रसमा चार्ल्सले सहज गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। यो विश्वकपमा अमेरिकाले पहिलो पटक खेलको पहिलो गोल व्यहोरेको अवसर पनि बन्यो।

३०औँ मिनेटमा बालोगनमाथि फल भएपछि अमेरिकाले फ्रि किकको अवसर पायो। मालिक टिलम्यानको प्रहार बेल्जियमका खेलाडीमा लागेर जाली चुम्दा खेल १–१ को बराबरीमा पुगेको थियो।

तर त्यो खुशी लामो समय टिकेन। ३३औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको क्रसमा डे केटेलारेले हेडमार्फत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा अमेरिका आक्रामक रूपमा फर्किएको देखिए पनि ५७औँ मिनेटमा गोलकिपर म्याट फ्रिजको ठूलो गल्ती महँगो सावित भयो।

लामो पास नियन्त्रण गर्ने क्रममा उनी अलमलिएपछि डे केटेलारेले बल खोसेर हान्स भानाकेनलाई पास दिए, जसलाई उनले खाली पोस्टमा गोल गर्दै बेल्जियमलाई ३–१ ले अघि बढाए।

केहीबेरपछि अमेरिकी कप्तान क्रिस्टियन पुलिसिच चोटका कारण मैदान छाड्न बाध्य भए। उनको बहिर्गमनसँगै अमेरिकाको पुनरागमनको आशा पनि कमजोर बन्यो।

खेलको इन्जुरी समयमा अमेरिकी डिफेन्डर क्रिस रिचार्ड्सको गल्तीपछि बल रोमेलु लुकाकुसम्म पुगेको थियो। अनुभवी स्ट्राइकर लुकाकुले कुनै गल्ती नगरी चौथो गोल गर्दै बेल्जियमको ४–१ को शानदार जित सुनिश्चित गरे।