Bagmati Samachar Logo

सुकुम्वासीको आँसुप्रति आफ्नै सरकारप्रति रास्वपा सचेतक क्रान्तिशिखाको आक्रोस : के अभिभावकीय राज्य यस्तै हुन्छ ?

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्ति शिखा धितालले सुकुम्वासी व्यवस्थापनको क्रममा राज्यले अपनाएको शैलीलाई लिएर असन्तुष्टि जनाएकी छन् ।

सुकुम्वासी बस्ती खाली गराउने क्रममा सडकमा देखिएको मानवीय संकट र रुवाबासीप्रति उनले आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले सडकमा बगिरहेका सुकुम्वासीका आँसुले सबैलाई पोल्नुपर्ने बताइन् ।
सुकुम्वासीको व्यवस्थापन अनिवार्य भए तापनि अहिले भइरहेको बल प्रयोग र प्रक्रियाले राज्यको कमजोरी मात्र उजागर गरेको उनको तर्क छ ।

चुनावताका रास्वपाले जनतामाझ गरेको बाचा स्मरण गर्दै धितालले अहिलेको कार्यशैली आफ्नै दलको वाचा पत्र अनुसार भयो भनी प्रश्न सोधेकी छन् । उनले लेखेकी छन्, ‘सुकुम्वासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो । तर, के यो हाम्रो बाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ?’

राज्यले नागरिकप्रति अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै असंवेदनशील बनेको धितालले टिप्पणी गरेकी छन् । योजना र जिम्मेवारीबिना चालिएका कदमले समस्या समाधान गर्नुको साटो राज्यलाई नै असक्षम देखाएको उनको भनाइ छ ।

उनी थप्छिन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो ।’