कमला पुलको निरीक्षण गर्न पुगेका मन्त्री लम्साल स्थानीयको घेराबन्दीमा
काठमाडौं । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल १५ वर्षदेखि पुरा हुन सकेको छैन ।
सोही पुरा हुन नसकेकको पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गर्न पुगेका थिए ।
पूर्वी मधेसका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो। १५ वर्षको अवधिमा मन्त्री लम्सालसहित १८ जना मन्त्रीहरूले यसको निरीक्षण गरिसकेका छन्।
मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य भने अझै अधुरो छ, जसका कारण स्थानीय जनताले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।
बालेन सरकार बनेपछि निरीक्षणका क्रममा मन्त्री लम्साल पुग्दा स्थानीयले विरोध गरेका छन्। पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीयले मन्त्रीको निरीक्षणप्रति असन्तुष्टि जनाए।
मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बाहनामा नरोकिने प्रष्ट पारेका थिए। भ्रमणका क्रममा मन्त्री लम्सालले कमला पुल मात्र नभई अन्य ठूला पूर्वाधार आयोजनाहरूको पनि अनुगमन गरेका छन्।
टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटा खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिव ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको जानकारी लिएको छ।
मन्त्री लम्सालले एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरेका थिए।
मन्त्री लम्सालले आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकतामा राखेको बताए।


प्रतिक्रिया दिनुहोस्: