Bagmati Samachar Logo

अध्यादेशबाट शासन चलाउन खोज्नु सरकारको कुनियत : भीष्मराज आङ्‍देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा आफ्नो अनुकूलका व्यक्ति नियुक्ति गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नुले सरकारको ‘कुनियत’ प्रष्ट भएको टिप्पणी गरे ।

उनले भने, ‘संवैधानिक आयोगहरूलाई आफ्नो नियन्त्रणमा राख्ने ढंगबाट सरकार अगाडि बढेको छ । यसका विरुद्ध हामी संसद्‍मा संशोधन प्रस्तावसहित संसदीय प्रक्रिया अनुसार सशक्त रूपमा प्रस्तुत हुनेछौँ ।’

संसद अधिवेशनको मिति पटक–पटक सार्ने र हठात आह्वान गर्ने कार्यले जनभावनाको अपमान गरेको उनको भनाइ छ ।

सरकारका जनविरोधी निर्णयका विरुद्ध संसद्‍मा रहेका अन्य विपक्षी दलहरूसँग पनि समन्वय भइरहेको नेता आङदेम्बेले बताए ।

मुद्दाका आधारमा विपक्षी दलहरू एकै ठाउँमा आउने पहल भइरहेको र संसद्‍मा सामूहिक रूपमा सरकारको कार्यशैलीको प्रतिवाद गरिने उनले बताए ।

संसदीय समन्वय बोर्डको अभ्यासका विषयमा प्रष्ट पार्दै उनले पार्टीले यसअघि गरेका निर्णयहरूको कार्यान्वयन र आगामी संसदीय रणनीतिबारे बोर्डमा घनिभूत छलफल भएको जानकारी समेत दिए ।