Bagmati Samachar Logo

रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो

काठमाडौँ । रोल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई भीरबाट खसेको हो ।
दुर्घटनामा परेकामध्ये सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या २० पुगेको हो ।

दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ । प्रहरीका अनुसार अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ भने घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।