देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी
काठमाडौँ । अखिल नेपाल सुकुम्वासी संघले विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले विभिन्न सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर राज्य आंतक फैलाइएको भन्दै विना बिकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो ।
पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई गरेका वाचा स्मरण गर्न र जबर्जस्ती उठिवास रोक्नका लागि सरोकारवाला सबैलाई आग्रह गरिने संघले जनाएको छ ।
त्यस्तै आन्दोलनको दोश्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने, जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्ने संघले जानकारी दिएको छ ।
संघका अध्यक्ष अमर परियारले जबर्जस्ती नागरिकलाई उठिबास लगाउने कार्य भएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए ।
‘पहिलो चरणमा हामीले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीसँग गरिएका वाचा स्मरण गराउँदै जबर्जस्ती उठिबासको कार्य तत्काल रोक्न सबै सरोकारवालासँग आग्रह गर्नेछौँ’, संघका अध्यक्ष परियारले भने ।
उनले थपे, ‘यदि यसमा सुनुवाइ भएन भने, दोस्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने र जनताको हितमा काम नगर्ने प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्नेछौँ । जबर्जस्ती नागरिकलाई उठिबास लगाउने कार्य बढेकाले हामी आन्दोलनमा जान बाध्य भएका हौँ ।’
शान्तिपूर्ण आन्दोलनबाट आफूहरुका माग सुनुवाइ नभए मेची–महाकाली राजमार्ग र सुकुम्वासी क्षेत्र केन्द्रित संघर्षसहित देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनी संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्: