Bagmati Samachar Logo

हिजो अवरोध भएको मनोहराको सुकुमवासी बस्तीमा आज बिहानैदेखि डोजर

काठमाडौं । काठमाडौं मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ।

यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानीयले अवरोध गरेका थिए। केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी, पत्रकारसमेत घाइते भएका थिए ।
आइतबार बिहानैदेखि बस्तीमा भक्तपुर तर्फबाट ३ सय नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए ।

मनोहरा क्षेत्रको बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि आज बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो।

मनोहराका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको खड्काले बताए। मनोहरा बस्तीमा सात सय ७७ घरटहरा छन्।