Bagmati Samachar Logo

बागमती सरकारले टेन्डरबाहेक सबै सरकारी सूचना निजीक्षेत्रलाई दिइने मुख्यमन्त्रीको प्रतिवद्धता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारका सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले यो विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जानकारी गराएको बताएका छन् ।

‘लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ,’ बानियाँले भने, ‘मिडिया हाउसलाई, कानूनबमोजिम दर्ता गर्न पाउने, विज्ञापन दिन्न पाइन्नँ भन्न हुन्न, सायद केन्द्र सरकारले पनि पाउँदैन होला भनेँ ।’

‘यो त केन्द्र सरकारको पनि ब्लन्डर हो, यसले एकातिर निजीक्षेत्रका मिडियासँग अर्कोतिर हामीलाई परिपत्र गर्दा संघ सरकार र प्रदेश सरकारमा द्वन्द्व बढ्छ, पाएको अधिकारबारे जानकार भएका छौँ,’ बानियाँले भने, ‘यसपछि प्रधानमन्त्रीले सरकारी टेन्डरबाहेक अरु होइन भन्ने प्रष्ट पार्नु भएको छ ।’

बानियाँले प्रमुख सचिवलाई यसबारे जानकारी गराइएको र बागमती प्रदेश सरकारमा टेन्डरबाहेक अरु सूचना निजी क्षेत्रलाई दिन निर्देशन दिइएको बताए ।