उद्योग मन्त्रीको सम्पति : १८० तोला सुन, चार रिङ हिरा र करोडौँ लगानी र बैंक ब्यालेन्स
काठमाडौँ । उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री यादवसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैंक मौज्दात रहेको देखिएको छ ।काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाममा तीनतले घर रहेको छ । त्यस्तै, काठमाडौँ–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको उल्लेख छ ।
महोत्तरी जिल्लातर्फ, बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन् । यसका साथै, महोत्तरीकै सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा देखिन्छ ।
त्यस्तै दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी छन् ।
बैंक तथा वित्तीय संस्थामा उनको चार लाख रुपैयाँ सिद्धार्थ बैंकमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ । यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ ।
सम्पत्ति मात्र नभई, मन्त्री यादवले ऋणको विवरण पनि सार्वजनिक गरेकी छन् । शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ ।यसका अ
अतिरिक्त उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्: