जाँचबुझ आयोगका पदाधिकारीको घरमा बढाइयो सुरक्षा सतर्कता,कार्कीलाई सुरक्षित ठाउँमा राख्ने तयारी
काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्कीलाई सुरक्षा थ्रेट भएको छ । उनीसहित अन्य पदाधिकारीको घरमा सुरक्षा सतर्कता बढाइएको छ।
कार्कीको भक्तपुरको गुण्डुस्थित निवासमा पनि बाक्लो सुरक्षा पहरा लगाइएको हो । सुरक्षा जोखिम हेरेर सरकारले कार्कीको घर वरिपरि सुरक्षा तैनाथी बढाएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।
पूर्वन्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारी सदस्य थिए।
उनीहरूले गत फागुन २४ गते प्रतिवेदन बुझाएका थिए। त्यही प्रतिवेदनका आधारमा शनिबार बिहान सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।
उनीहरूलाई पक्राउको विरोधमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ता सडकमा उत्रिएका छन्। ओली र लेखकलाई पक्राउको विरोधमा शनिबार काठमाडौँ लगायतका देशका विभिन्न शहरमा प्रदर्शन भएका छन्।
यसमा ध्यानमा राखेर जाँचबुझ आयोगका अध्यक्ष कार्की र दुवै जना सदस्यको घरमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ। अध्यक्ष कार्कीको गुण्डुस्थिगत घरमा शनिबार दिउँसोदेखि नै सुरक्षाकर्मी खटाइएको छ।
त्यस्तै, जाँचबुझ आयोगका दुवै सदस्यको घरमा पनि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: