Bagmati Samachar Logo

ओली पक्राउको विरोध गर्ने ७ जना एमाले कार्यकर्ता पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज शनिबार काठमाडौँमा दिनभरी प्रर्दशन भयो । एमाले कार्यकर्ताहरूले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । एक जना घाइते भएका छन् ।

प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका कार्यकर्ताह पक्राउ परेका छन् । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले जानकारी दिए ।

आज प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको टाउकोमा चोट लागेको छ ।