Bagmati Samachar Logo

कैलालीमा स्थानीय सशस्त्रको गुल्मभित्र छिरेर डीएसपीमाथि हातपात

काठमाडौं । कैलालीको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी गुल्ममा स्थानीयहरु छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरेको छ । जिल्लाको खक्रौला भन्सारनजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा स्थानीयहरु पसेका हुन् ।

सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको छ । डीएसपी पौडेलले ज्यादति गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ ।

स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागितामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरू गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले डीएसपी पौडेलबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ ।

डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ ।