प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा गरिन् पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता व्यक्त गर्दै उनले उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अघि बढाउन सबै क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेकी छन् । साथै, आगामी दिनमा देश अझ उन्नतिको दिशामा अघि बढोस् भन्ने कामना व्यक्त गरेकी छन् ।
उनले सम्पूर्ण नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ बनोस् भनी अपिलसमेत गरिन् ।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा तथा कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: