Bagmati Samachar Logo

४२ क्षेत्रमा रास्वपा अगाडि हुँदा कांग्रेस ५, एमाले ४ र नेकपा ३ क्षेत्रमा अगाडि

काठमाडौं । २१ फागुनको निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४२ निर्वाचन क्षेत्रमा अगाडि छ ।

जारी मतगणनामा रास्वपा ४२ निर्वाचन क्षेत्रमा अग्रतामा देखिएको छ । अग्रता बनाएको क्षेत्रमा रास्वपाका अधिकांश उम्मेदवार दोब्बर तेब्बर मतले अगाडि देखिएका छन् ।

कांग्रेसले ५, एमालेले ४ र नेकपाले ३ स्थानमा अग्रता लिइरहेका छन् । पछिल्लो रुझानले १६५ क्षेत्रमा रास्वपाले बहुमत सिट जित्नेतर्फ लम्किएको छ । २०७९ मा रास्वपाले २१ जितेर चौथो स्थान कायम गरेको थियो । यसपटक सबैभन्दा ठूलो दल बन्नेतर्फ रास्वपाको मत आएको छ ।

मुख्यगरी काठमाडौंका १० वटै क्षेत्र, रुपन्देही, धनुषा, झापासहितका शहरी निर्वाचन क्षेत्रमा रास्वपाप्रति आकर्षण देखिएको छ । उच्च पहाडी र हिमाली जिल्लामा भने अन्य दलले प्रभाव देखाएका छन् ।

कांग्रेस कपिलवस्तु– ३, ललितपुर– १, कैलाली– १, रसुवासहितका स्थानमा अगाडि देखिएको छ । ललितपुरमा पनि ग्रामीण क्षेत्रबाट मतगणना हुँदा राणा अगाडि देखिएका छन् । गोदावरी र चापागाउँ क्षेत्रको मतगणना हुँदा उनी पछि पर्न सक्ने देखिएको छ ।

देशकै अत्याधिक चासो देखिएको झापा पाँचमा रास्वपाका बालेन शाह एमालेका केपी ओलीभन्दा तेब्बर मतले अगाडि देखिएका छन् ।

चितवन– ३ मा पनि रास्वपाकी सोविता गौतम नेकपाकी रेनु दाहालभन्दा अगाडि देखिएकी छिन् ।

चितवन– २ मा रास्वपाका रवि लामिछानेले पनि प्रभावशाली अग्रता लिइरहेका छन् ।

परम्परागत दलका प्रभावशाली नेतामा रुकुमबाट नेकपामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै शानदार मतले अगाडि देखिएका छन् ।