Bagmati Samachar Logo

गुम्बामा मतदान हुनु पर्ने भन्दै स्थानीयले हुम्लामा गरे लफडा

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हल्जीमा रहेको एउटा मतदानस्थलमा लफडा भएको छ । गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयको मतदान केन्द्रमा स्थानीयहरुले लफडा गरेका हुन् ।

२६४ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा स्थानीयले गुम्बामा मतपेटिका र मतपत्र लिएर मतदान गराउनुपर्ने माग गर्दा निर्वाचनमा खटिएको टोलीले नमानेपछि लफडा सुरु भएको हो ।

करिब एक सय जनाको समूहमा आएका स्थानीयले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीको लत्ताकपडा, रासन फालिदिएका छन् । निर्वाचनमा खटिएका एक कर्मचारीका अनुसार कुल मतदातामध्ये १६४ जनाले मतदान गरिसकेका छन् ।

‘१६४ जनाको मतदान भइसकेपछि हामी ड्युटीमै थियौँ, स्थानीयले गुम्बामा भएका लामाहरु र केही बिरामीका लागि गुम्बामै मतपत्र र पेटिका लिएर मतदान गर्ने व्यवस्था गर्न भन्नुभएको थियो,’ एक निर्वाचन अधिकृतले भने, ‘हामीले नमानेपछि स्थानीयले यहाँ मतदान केन्द्रभित्र पसेर लफडा गरेका छन् ।ु

घटनालाई निर्वाचनमा खटिएको नेपाली सेनाले नियन्त्रणमा लिएको उनले बताए । अब बिरामीलाई वैकल्पिक व्यवस्था गरी मतदान केन्द्रसम्म ल्याउने तयारी भइरहेको हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलले बताए । उक्त निर्वाचन केन्द्र रहेको सुनखानी गाउँ राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवार टासी ल्हान्जोमको हो ।