Bagmati Samachar Logo

अन्तरिम आदेशकाबीच हेटौंडामा सडक विस्तार शुरु

नवराज वाईबा

मकवानपुर । हेटौँडा बजार क्षेत्रमा लामो कानुनी र प्रशासनिक विवादपछि सडक अतिक्रमणका स्थायी–अस्थायी संरचना भत्काउने काम शनिबार बिहानदेखि तीव्र रूपमा सुरु गरिएको छ। बिहान साढे ५ बजेबाट बुद्धचोक क्षेत्रबाट डोजर परिचालन गर्दै उपमेयर राजेश बानियाँको पसल रहेको भवनसहित अतिक्रमित संरचना हटाइने कार्य अघि बढाइएको हो।

डिभिजन सडक कार्यालयले व्यापक सुरक्षा व्यवस्था गर्दै करिब आधा दर्जन डोजर प्रयोगमा ल्याएको हो । प्रजिअ बसन्त अधिकारीका अनुसार सडक विस्तार रोक्ने कुनै आदेश सर्वोच्च अदालतबाट नआएकाले काम रोक्नुपर्ने अवस्था नरहेको भन्दै संरचना भत्काउन शुरु गरिएको हो । सर्वोच्च अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि सो को लिखित जानकारी आइनपुगेको भन्दै डिभिजनले पूर्वनिर्धारित योजनाअनुसार नै काम निरन्तर बढाइएको हो ।

मंसिर ५ गते १५ दिनको म्यादसहित सूचना जारी गरिएको र मंसिर १९ सम्म कुनै निकायबाट रोक आदेश नआएकाले विस्तार कार्य सुरु गरिएको कार्यालयले जनाएको छ । यसैबीच ५३१ घर भत्किसकेपछि आइतबार सर्वोच्चको आदेश प्राप्त भएको भन्दै तत्कालका लागि संरचना भत्काउने कार्य स्थगित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

सडक डिभिजनका अनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र बुद्धचोकदेखि सामरी पुलसम्म ७५–७५ फिट चौडाइको सडक विस्तार गरिँदैछ। ९.५ किमि क्षेत्रभित्र पर्ने कुल ५३१ संरचना, दायाँतर्फ २३४ र बायाँतर्फ २९७ चरणबद्ध रूपमा हटाइनेछ।