Bagmati Samachar Logo

हेटौँडामा सुरु भयो सडक विस्तारको काम, स्थानीयद्धारा विरोध जारी

मिना श्रेष्ठ

हेटौँडा । लामो समयदेखि अरोकिएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य अन्ततः आज (शनिबार) बाट सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा बजार क्षेत्रमा सडक विस्तार सुरु गरेको छ । शनिबार बिहान ५ बजेबाट सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन सुरु गरेको थियो ।

त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) क्षेत्रको दायाँ–बायाँ २५–२५ गज (२२.५ मिटर) मा निर्माण भएका संरचनाहरू हटाउन कार्यालयले डोजर तथा जेसिभी प्रयोग गरेको छ । हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म (महेन्द्र राजमार्ग) र बुद्धचोकदेखि चौकीटोल हुँदै सामरी पुलसम्म (त्रिभुवन राजपथ) को ९.५ किलोमिटर क्षेत्रमा यो अभियान सुरु भएको हो । सडक सीमाको ७५ फिट क्षेत्र खाली गराउने अभियानअन्तर्गत ५३१ घर–टहरा भत्काउने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालयले मङ्सिर ५ गते सडक सीमा क्षेत्रमा निर्माण भएका संरचना हटाउन १५ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । उक्त सूचनाको म्याद मङ्सिर १९ गते सकिएसँगै शनिबार बिहानबाट प्रशासनको सुरक्षा घेराभित्र रहेर सडक सीमा खाली गराउन थालिएको हो ।

यसअघि सडक डिभिजन कार्यालय हेटौँडाले २०७३, २०७६, २०८० र २०८२ सालमा पटक–पटक सूचना जारी गरे पनि स्थानीय घरधनीहरूले अदालतबाट ‘स्टे अर्डर’ ल्याउँदा विस्तार कार्य रोकिँदै आएको थियो । तर, गत २०८० पुस १७ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सो क्षेत्र राष्ट्रिय राजमार्ग (२५ गज) भित्र पर्ने र त्यसका लागि मुआब्जा तथा क्षतिपूर्ति दिन नपर्ने फैसला गरेपछि सडक विभागलाई काम अघि बढाउन बाटो खुलेको हो । सोही फैसलाको जगमा टेकेर कारबाही अगाडि बढाइएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

यता हेटौँडा–२ स्थित पिपल बोटदेखि उद्योग वाणिज्य संघसम्मको क्षेत्रका केही घरहरू भने तत्काल भत्काइएको छैन । सडक विस्तारको अन्तिम तयारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद विन्दबासिनी कंसाकारसहित ६ जनाले सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

शुक्रबार मात्रै न्यायाधीश मेघराज पोखरेलको इजलासले ती ६ जनाको हकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण सो क्षेत्रमा कुनै काम गरिएको छैन । प्रशासनले सो क्षेत्रका घर–टहरा हटाउन मङ्सिर २६ गतेको पेशी कुर्ने तयारी गरेको छ ।

फोटो : मिना श्रेष्ठ