Bagmati Samachar Logo

चुनाव निष्पक्ष र भयरहित हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा भयरहित र निष्पक्ष रुपमा निर्वाचन बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन हुने दाबी गरेका हुन् ।

‘यो सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र निर्वाचन गर्ने हो, म्यान्डेट पनि चुनावकै पाएका छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भएको बताए । राजनीतिक दललाई पनि निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन वर्तमान सरकार सक्रिय भएको मन्त्री अर्यालको दाबी थियो । ‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ,’ अर्यालले भने, ‘कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’

गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नभएको बताए । ‘फागुन २१ गतेको निर्वाचन हुनैपर्छ, विकल्प छैन,’ मुख्यमन्त्री शाहले भने, ‘सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ ।’

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताए । ‘पार्टीका गतिविधिमा अवरोध भइरहेको छ,’ मन्त्री सार्कीले भने, ‘गृह मन्त्रालयले राजनीति दलहरूसँग संवाद गर्न आवश्यक छ ।’

सुरक्षा गोष्ठीमा उद्घाटन सत्र सकिएसँगै बन्द सत्र सुरु भएको छ । दोस्रो सत्रको सुरुवातमा जिल्लागत प्रदेशगत सुरक्षा चुनौतीबारे प्रस्तुतिकरण भइरहेको छ । गृह मन्त्रालयका तर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको प्रस्तुति हुनेछ ।

त्यसपछि सुरक्षा निकायका प्रमुखहरू, प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिलामन्त्री सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालको मन्तव्यपछि गृहसचिव दंगालले कार्यक्रम समापन गर्ने कार्यक्रम छ ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुनेछ ।

गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी छन् ।