Bagmati Samachar Logo

महेश बस्नेतले चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोमा दिए बयान

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान दिएका छन् ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका हुन्। उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, ‘उहाँ बिहान उपस्थित हुनुभएको हो। सरकारी वकिलको निर्देशन बमोजिम उहाँको कागज गराएका छौं। फर्किसक्नुभएको छ ।’

यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो। तर अदालतले पुर्जी दिन अस्वीकार गरेको हो। पुर्जी दिन नमानेसँगै कागज गरिएको हो।
बस्नेतले आफू साइबर ब्युरो गएर फर्केको बताए । उनले भने,‘साइबर ब्युरो पुगेर फर्केको छु ।’

एक महिलाले आफूमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाएकी थिइन् भने सुरूमा ब्युरोमा जाहेरी दिएकी थिइन्। त्यहाँ जाहेरी दर्ता नभएपछि हुलाकमार्फत सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई असोज ५ गते पत्राचार गरेको थियो।

उक्त पत्रमा महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा थप अनुसन्धान गरी राय पेस गर्न भनिएको थियो।