मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद् व्यवस्थापनमा पार्टीका सबै तहलाई एकजुट भएर खटिन निर्देशन दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार साँझ सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गर्दै पार्टीका नेता(कार्यकर्ता, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह तथा भातृ संगठनहरूलाई खोज, उद्धार र राहतका काममा तत्काल जुट्न आह्वान गरेका हुन्। उनले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का कार्यकर्ता विपद् प्रतिकार्यमा खटिएको जनाएका छन्।
प्रचण्डले असोज १७ गतेदेखि सुरु भएको वर्षाले बागमती, मधेस र कोशी प्रदेशका पहाडी भेगमा पहिरो र तराईमा डुबानको समस्या तीव्र रूपमा बढाउने देखिएको औँल्याएका छन्।
सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको खान बस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय निकाय र नागरिकलाई सहयोग गर्न आग्रह गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न अनुरोध गरेका छन्।
साथै, उनले सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई आपसी मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न विशेष अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस्: