टोपबहादुर रायमाझी र गोरे फर्के कारागार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन् ।
जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनीहरु दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी र गोरे कारागार फर्केका स्रोतले बताए ।
रायमाझी र गोरेसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार पुर्पछमा पठाएको थियो ।
सायमाझीसँगै भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । उनी भने अहिलेसम्म फर्केका छैनन् ।
सुन तस्करीमा प्रहरी अधिकारीहरू नै संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।
छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।
प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो ।
न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो ।
एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । गोरे भने जन्म कैदको सजाय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: