Bagmati Samachar Logo

नक्कली विद्यालय खडा गरेर भ्रष्टाचार गरेको आरोपमा एमालेका पूर्वमन्त्री विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार नेकपा एमालेबाट कर्णाली प्रदेृशका पूर्वमन्त्री नन्दसिंह बुढा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बुढाका साथैअन्य तीन जना विरुद्ध पनि मुद्दा दायर भएको छ ।

७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी बुढाहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर भएको हो । बुढाले आफूलाई तत्कालीन समयमा उपभोक्ता समितिको फर्जी अध्यक्ष बनाएर कागजात बनाएका थिए ।

उनीहरुले डोल्पाको ठुलोभरी नगरपालिका—४, तिप्लामा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामक नक्कली विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०६७र०६८ मा जिल्ला डोल्पाको तत्कालीन दुनै गाउँ विकास समितिमा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामक काल्पनिक विद्यालय खडा गरिएको थियो ।’

उक्त विद्यालयको नाममा दुई कोठे भवन निर्माण गर्ने भन्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ बजेट निकासा गराउन उनीहरु सफल भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । तर, अनुसन्धानका क्रममा उक्त स्थानमा दुर्गा प्रावि नामक कुनै विद्यालय नरहेको र श्री लालीगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको पाइएको उनको भनाइ छ ।

जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख र लेखापालको मिलेमतोमा नक्कली विद्यालयको नाममा बजेट उक्त छुट्याइएको पाइएको अख्तियारले जनाएको छ । यद्यपि उक्त योजनाको प्रमुख योजनाकार भने नन्दसिंह बुढा नै भएको बताइएको छ ।

उनी हाल नेकपा एमालेका प्रदेश कमिटी सदस्य छन् भने उनै बुढाले आफ्नो सालो नाता पर्नेकी श्रीमती संगिता बुढालाई कोषाध्यक्ष बनाएर नक्कली कागजातका आधारमा रकम भुक्तानी गर्ने वातावरण मिलाएका थिए ।

अहिले संगिता लोक सेवा पास गरेर डोल्पाकै त्रिपुरासुन्दरीमा अनमी पदमा कार्यरत छिन् ।

एक दशकपछि अहिले आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि संगिता अचम्ममा परेकी छिन् । यो घटना यस्तो भएको छ भन्ने कुरा संगिताले गत वर्ष अख्तियारले बयानमा बोलाउँदा मात्रै थाह पाएकी थिइन् ।

बुढा एमालेको कर्णाली प्रदेश कमिटी सदस्य पनि हुन् । उनले २०७४ सालमा डोल्पा (क) बाट ४ हजार ८५९ मत ल्याएर कर्णाली प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनी एमालेबाट कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए ।