नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद, ३० करोडभन्दा बढी जरिवाना
काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिका काठमाडौंका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद र ३० करोडभन्दा बढी जरिवाना फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको अभियोगमा ८ वर्ष र जनप्रतिनिधिको हैसियतले गरेको अपराधमा थप ३ महिनाको कैद सजाय सुनाएको हो ।
९ करोड २२ लाख रुपैयाँ घुस लेनदेन भएको ठहर गर्दै अदालतले बस्नेतसहित पद्ममा हाउजिङका सञ्चालक राजु कँडेललाई जनही २ करोड ३० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । हाउजिङ कम्पनी र पद्मा मर्चेन्टले पनि सोही अनुपातमा जरिवाना तिर्नुपर्नेछ ।
बस्नेतलाई १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गर्दै अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ । तर उक्त कैद सजाय पहिले तोकिएको ८ वर्षको कैदमा गाभिने निर्णय भएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अदालतले उनलाई २६ करोड २५ लाख रुपैयाँ जरिवाना तोकेको छ । साथै, उनीमाथि थप २ करोड २६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: