आफ्नो आमसभा आफैँले भाँडेर भागे दुर्गा प्रसाई
काठमाडौं । आफूलाई राजावादी घोषणा गरेका दुर्गा प्रसाईले आफ्नो आमसभा भाँडेर अराजकता मच्चाएका छन् । शुक्रबार तीन कुनेमा आयोजना गरको आमसभा सुरु नहुदै रणमैदानमा परिणत भएको छ । त्यो पनि आफै आयोजक बनेर राजाको पक्षमा आम सभा आयोजना गरेका थिए ।
तिनकुनेमा सुरक्षा घेरा तोडेर दुर्गा प्रसाईले गाडि सहति अगाडि बढ्दा प्रहरीले बल प्रयोग गर्न बाध्य भएको थियो । सुरुमा धकेला–धकेल भयो । प्रदर्शनकारीले इँटा–ढुंगा हान्दै जबर्जस्ती गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्यो । अश्रुग्यास हानेपछि तितरबितर भएका प्रदर्शनकारीले नजिकैको मार्बल हाउसमा अन्धाधुन्ध ढुंगा हानेर तोडफोड गरिदिए । लगत्तै आगजनी पनि भएपछि प्रहरीले राजसंस्थापक्षधरको सभास्थलमा हस्तक्षेप गर्यो । अन्ततः गणतन्त्रविरोधी पहिलो प्रदर्शन भाँडियो ।
सभास्थलको दृश्य हेर्दा राजसंस्थापक्षधरको आन्दोलन भड्किनुमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईंकै कारण कार्यक्रम बिथोलिएको देखिन्छ । तीनकुनेमा राजसंस्थापक्षधरहरू भेला नहुँदै उनी गाडी लिएरै प्रहरीको घेरा तोड्न आफैँ हिँडे । त्यसले नै धेरैलाई गणतन्त्रविरुद्धको पहिलो सभा शान्तिपूर्ण हुनेमा शंका पैदा गरिदिएको थियो ।
प्रदर्शनकारीलाई प्रहरीसँग झडप गराएपछि मञ्चमा फर्किएर संयमित हुन र कार्यक्रमस्थलमा आउन आह्वान गरे । तर, त्यतिञ्जेलसम्म तीनकुनेमा तनाव भइसकेको थियो । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान, अश्रुग्यास प्रहार र लखेटालखेट भइसकेको थियो । रोचक त के भने प्रसाईले संयम अपनाउन मञ्चबाट आह्वान गरिरहँदा राप्रपा महामन्त्री एवं आन्दोलन परिचालन संयोजक धवलशमशेर राणा एकत्रित भई निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर जान भनिरहेका थिए ।
राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक ८६ वर्षीष नवराज सुवेदी र सदस्यसचिव एवं राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अश्रुग्यासबाट अत्तालिएर मञ्च छोडेर हिँडिसकेका थिए । प्रहरीले मञ्च हस्तक्षेप गर्ने क्रममा एक वृद्ध घाइते भएका छन् । दोहोरो ढुंगा हानाहानमा थुप्रै प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् ।
आफैँले नेतृत्व गरेको प्रदर्शनलाई प्रसाईंले किन आफैँले भड्काउन खोजे रु सभास्थलबाट फर्केका शिलापत्रकर्मीका अनुसार, शुक्रबारको प्रदर्शनमा अपेक्षाकृत जनसहभागिता नभएपछि उनी सुरुदेखि नै असन्तुष्ट थिए । राप्रपा र राप्रपा नेपालले साथ दिने भने पनि साथ नपाएको उनको गुनासो थियो । त्यसैले शान्तिपूर्ण प्रदर्शन र सभामा भाषण गर्नुभन्दा सुरक्षा घेरा तोडेर आन्दोलन भड्काउनुमै उनले फाइदा देखेको हुन सक्ने धेरैको विश्लेषण छ ।
त्यसो त पूर्वपञ्चहरूलाई पाखा लगाएर प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको विश्वास जितेको धेरैलाई मन परेको छैन । हुन पनि दशकौँदेखिका राजभक्तहरूलाई पन्छाएर मौसमपिच्छे पार्टी बदल्दै हिँडेका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई राजसंस्था पुनःस्थापना जनआन्दोलनको जनकमान्डर बनाइएको थियो ।
प्रदर्शनको एक दिनअघि बिहीबार निर्मल निवास पुगेरै पूर्वराजा शाहलाई भेटेका प्रसाईं स्वयम् प्रदर्शनलाई भड्काउन चाहन्थे । किनभने, २५ फागुनको मोटरसाइकल र्यालीबाट राजसंस्था पक्षधरहरूमा जगाएको आशालाई निरन्तरता दिने गरी प्रदर्शन नहुनेमा उनी पहिल्यै विश्वस्त थिए । शुक्रबारको प्रदर्शन पनि कुनै तयारी गरेरभन्दा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले प्रदर्शनको घोषणा गरेपछि त्यसलाई काउन्टर गर्ने गरी राखिएको थियो । त्यसमा राप्रपाका दुवै खेमाले विज्ञप्तिबाजी गरे पनि संस्थागत रूपमा सहयोग गरेका थिएनन् ।
आन्दोलन भड्काएर हिंसात्मक बनाएपछि प्रसाईंले सुटुक्क गाडी चढेर तीनकुने छाडे । तर, त्यसपछि पनि तीनकुने वरपर झडप र तोडफोड रोकिएन । ट्राफिक बिट भत्काइयो । कोटेश्वरको भाटभटेनीदेखि पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय र शान्तिनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भए, आगजनीका कोसिस भए । अराजक समूहले योजनाबद्ध रुपमा तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले राति १० बजेसम्मका लागि तीनकुने र आसपासका क्षेत्रमा निषेधाज्ञा कर्फ्यु लागू गरेको छ । कार्यक्रमस्थल छाडेर हिँडेका प्रसाईंले लगत्तै सामाजिक सञ्जालबाट भने व्यक्तिगत सम्पत्तिमा क्षति नपुर्याउन आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: