Bagmati Samachar Logo

लेबनानमा प्रदर्शनकारीको आक्रमणमा परि नेपाली सेनाका उपरथी घाइते

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।

गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शनकारीले हमला गरेर तोडफोड गरेका हुन् । त्यसक्रममा ढकाल घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी, भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन्’, निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी यूएनको लेभल थ्री अस्पताल बेरुत पुर्‍याइएको थियो ।’

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, हाल उनी खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको छ ।

घटनाबारे मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति, समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको समाचार संस्था एपीले जनाएको छ ।