सिंहदरबार चलाएजसरी विश्वविद्यालय चलाउनु हुन्न : उपकुलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको दाबी गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस प्रमुख बनाउने गरी समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उनले सबैलाई समेटेर समिति र मापदण्ड बनाएको बताएका छन् ।
उनले भने,‘उहाँको आरोप सत्य होइन । कहाँ म एक्लैले बनाएको हो र , साइन्सको, कृषिको, आईओएमको संयोजक को हुन् ? क्याम्पसको छनौट समिति रेक्टरले र सहपरीक्षा नियन्त्रकको रजिस्ट्रारले बनाएको हो । म एक्लैले कहाँ छनोट समिति गठन गरेको छु । मेरो क्षेत्राधिकारमा पर्ने मैले बनाएको हुँ । कहाँ सबै एक्लैले गर्न सक्छु ?’
उपकुलपति बरालले आफू एक्लैले विश्वविद्यालय चलाउन नसक्ने र नियुक्ति कार्यकारी परिषद्ले गर्ने बताए ।उनले भने, ‘विश्वविद्यालय भीसीले मात्र चलाउने होइन । नियुक्ति गर्ने कार्यकारी परिषद्ले हो । कसरी म एक्लैले चलाए भन्न मिल्छ ?’
त्रिविमा ८ वटा संकायको डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ । कार्यकारी परिषद्मा एकमत नहुँदा ढिलाइ भएको संकेत उपकुलपति बरालले दिए ।
नियुक्तिको विषयमा दलका शीर्ष नेता नै आरोप प्रत्यारोपमा लागेका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उपकुलपति बरालले मेरिटोक्रेसीको नाममा आफूले चाहेको व्यक्ति नियुक्ति गर्नेगरी छनोट समिति गठन गरेको आरोप लगाएका थिए ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धरासाही हुनेछ ।’
यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत १४ मंसिरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको कार्यक्रममा अहिलेको सरकारले त्रिविका पदाधिकारीहरूमाथि आक्रमण गर्न थालेको टिप्पणी गरेका थिए ।
त्रिविका उपकुलपति बराल भने सिंहदरबार चलाए जसरी विश्वविद्यालय चलाउन नहुने तर्क गर्छन् ।
प्रतिक्रिया दिनुहोस्: