Bagmati Samachar Logo

रविमाथि अमानवीय व्यवहार गरेको आरोपको जिप्रका चितवनले गर्‍यो खण्डन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको आरोपको खण्डन गरेको छ । अमानवीय व्यवहार भएको भन्नेबारेमा सामाजिक सञ्जालमा भ्रम फैलाइएको जिप्रकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जारी गरेको विज्ञप्तिमा प्रहरीका कर्मचारीले राति सुतेका बेला हिरासत कक्षबाट लामिछानेलाई उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थ हुँदाहुँदै लगिएको, प्रहरीका कर्मचारीले रक्सी पिएको भन्नेजस्ता सूचना कपोकल्पित र झुटा रहेको दाबी गरिएको छ ।

‘मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयानका क्रममा भीडले अनुसन्धानमा बाधा पु¥याउने प्रयास गरेको थियो । प्रहरीमाथि ढुंगा मुढा प्रहार गर्ने, कार्यालयभित्र प्रवेश गर्न खोज्नेजस्ता घटनाहरू भएका थिए । खराब मौसमका कारण हवाई मार्गबाट लैजान सक्ने अवस्था थिएन । भीडबाट सुरक्षा चुनौती बढ्ने देखिएकाले विशेष सतर्कता अपनाइएको थियो । बयान सकिएपछि लामिछानेलाई आफन्तसँग भेटघाटको अवसर दिइयो । त्यसपछि, २० गते बिहान १२ः०५ बजे उनलाई सुरक्षा सतर्कता अपनाउँदै चितवनबाट कास्की जिल्ला प्रहरी कार्यालय पु¥याइएको हो’, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लामिछानेलाई चितवनबाट पोखरा सार्दा कानुनी प्रक्रिया र मानव अधिकारका मान्यताहरूको पूर्ण पालना गरिएको विज्ञप्तिमा जनाइएको छ । फौजदारी न्याय प्रणालीको मापदण्डभित्र रहेर लामिछानेमाथि अनुसन्धान भइरहेको रिजालले बताए ।
यता रास्वपाले राष्टिमानअघिकार आयोगमा उजुरी दिएको छ ।