माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाखभन्दा बढी सहयोग
काठमाडौँ । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ ।
समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गरेका थिए ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया महादेश संगठन समन्वय समितिलाई धन्यवाद दिए । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।
बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरूले पनि योगदान गरेकोमा प्रशंसा गरे ।
मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरूले यसपटक दसैँ तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।
प्रतिक्रिया दिनुहोस्: