कोरोनाकालमा बन्द भएका सीमानाका खोल्न चीन तयार भयो : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका १४ वटा सीमानाका यथाशीघ्र खोल्न चीन तयार भएको बताएका छन् ।
चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमानाकाहरू यथाशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताए ।
रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू भने सञ्चालनमा आइसकेका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने बताए । उनले नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताए ।
परराष्ट्रमन्त्री श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिएर कार्यान्वयन गर्नेबारे छलफल भएको बताए । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेकोमा चीन सकारात्मक देखिएको उनले बताए ।
नेपाल–चीनबीच भएका सहमतिको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रको नियमित बैठक बसेर आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएको उनले बताए । सन् २०१२ मा नेपाल–चीनबीच हस्ताक्षर भएको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको पनि उनले बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणले नेपाल र चीनबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । घाँस, तरकारी तथा फलफूलहरूलगायतका नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको उनले बताए ।
नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको पनि उनले बताए । नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न शहरबीच थप उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: