केन्द्रीय सदस्यको प्रचण्डलाई प्रश्न : लेनदेनको हिसाब मिलाउन छोरी स्वकीय सचिव राखेको हो ?
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोस पोखेका छन् । आलोचकको निशानामा उपप्रधानमन्त्री तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि परेका छन् ।
बैठकमा बोल्ने नेताहरूले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरी र भतिजा राखेको विषय उठाउँदै आलोचना गरेका हुन् । प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोरी र भतिजालाई लेनदेन मिलाउन सचिवालयमा राखेको आरोप लगाएका छन् । उनले बैठकमा भने, ‘अध्यक्ष आफैँ रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’ अहिले प्रचणपुत्री गंगा दाहाल प्रचण्डकी प्रमुख स्वकीय सचिव छिन् । गृहमन्त्री श्रेष्ठका भतिजा सुरेश काजी श्रेष्ठ प्रमुख स्वकीय सचिव छन् ।
उनले माओवादी पार्टी बनाउने हो भने, अहिले ल्याएको विधान सम्मेलन र विशेष महाधिवेशनले कुनै फरक नपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले पन्तको भनाइ भन्दै भने, ‘एउट विशिष्ट खालको महाधिवेशनमा गएर प्रचण्ड आफैँ चुनाव लडेर अध्यक्ष बन्न तयार हुनुपर्छ नभए चुनाव लडेर अरु कोही बन्छ ।’
आज बोल्ने क्रममामा केन्द्रीय सदस्य ओम शर्माले यो पार्टीको आयु पाँच हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने धारणा राखेका छन् । उनले विधान महाधिवेशन र विशेष महाधिवेशन हुन्छ भन्ने आफूलाई विश्वास नलागेको बताए ।
रिपोर्टिङ गर्ने क्रममा कृष्णकुमार चौधरीले आफ्नो टाउकोमा आफैँ आगो लगाउनुपर्ने समय आएको बताए । उनले कुनै समयमा माओवादी हुँदा गर्व लाग्ने गरेको तर अहिले आफैँमा त्यो नभएको बताए । उनले भने, ुपार्टीमा गणेश प्रवृत्ति हावी भएको छ । यसको अन्त्य नभए पार्टी सुदृढ बन्दैन ।ु
केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले फोनसमेत नउठाएको र आफैँ ठूलो हुने कसैलाई मान्छे नगन्ने व्यवहार देखाएको भन्दै बैठकमा आलोचना गरे ।
उनले वरिष्ठ उपाध्यक्षले माओवादी नेता र कार्यकर्ताभन्दा व्यापारी र बिचौलियालाई महत्त्व दिने गरेको भन्दै बैठकमा आक्रोश पोखे । श्रेष्ठले भने, ‘एकपटक भेट्न जाँदा आफूलाई बेवास्ता गरेर गेटबाट छिर्न नै दिएनन् तर त्यही समयमा उनको निवासमा ठूलो घरानाका व्यापारीलाई लिन गेटमा आफैँ पुग्दा म आश्चर्यमा परेँ ।’
मानसिंह मालले माओवादीमा फिल्डमा खट्ने र नखट्नेबीच कुनै भिन्नता नहुँदा काम गर्ने कार्यकर्ताको मनोबल गिरेको बताए । उनले बैठकमा बोल्दै, ‘फिल्डमा काम नगर्ने पटकपटक काठमाडौं आउने, काम नगर्ने र फिल्डमा काम गर्नेको मूल्याकंन हुन सकेको छैन । नेताहरू कार्यकर्तासँग होइन बिचौलियासँग बढी हेलमेल गर्ने गरेका छन् । जसका कारण माओवादी सकियो ।’ माओवादीको बैठकमा आज १८ जना नेताहरूले रिपोर्टिङ राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्: