एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध गरेको हो ।
संसद बैठक आगामी साउन १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् ।
संसद अवरुद्ध गर्नुअघि संसदको आकस्मिक समयमा विभिन्न दलका सांसदहरुले सुन तस्करी प्रकरणको छानविन गर्न र मुख्य अभियुक्तलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीलाई सरकारले सहयोग गरिरहेको आरोप लगाउँदै गृहमन्त्री, अर्थमन्त्री लगायतमाथि छानविन गर्न माग गरेको थियो ।
एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोराको सुन तस्करसँग १९५ पटक फोन सम्वाद भएको भन्दै सरकारले अनुसन्धान नगरी संरक्षण गरेको आरोप लगाए ।
१० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै प्रमुख सचेतक गिरीले भने– ‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ? अवश्य थियो सभामुख महोदय । अर्थ र गृहमन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी भएको छैन ।’
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नगरी संसद अघि बढाउन नदिने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: