Bagmati Samachar Logo

समाजवादी मोर्चाले सातै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने, अध्यक्ष ६  महिनामा आलोपालो गर्ने

काठमाडौँ । समाजवादी मोर्चा, नेपालले सातवटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंमा बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको थियो । आज बसेको पहिलो बैठकले समाजवादी मोर्चाको सन्देश दिने गरी सबै प्रदेशका राजधानीमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यक्रम कहिले हुन्छ भनेर मिति भने तय भएको छैन ।

मोर्चाको सन्देश देशभर पुरयाउने गरी सबै प्रदेशको राजधानीहरुमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुने र पारित हुने समेत उनले बताए ।

‘बैठक बडो सौहाद्रपूर्ण ढंगले सम्पन्न भयो । यो मोर्चाको उद्देश्य, यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने बारेमा बैठकमा छलफल भयो ,’ उनले भने, ‘यो छलफल पश्चात र, यसका सन्देशहरु दिनका लागि हामीले केही दिनभित्र सातवटै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौ । त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने आउँदो २७ गते घोषणा हुन्छ ।’

बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेका छन् ।

समाजवादी मोर्चाको बैठकको अध्यक्षता ६÷६ महिनामा आलोपालो गर्ने गरी सहमति भएको पाण्डेले जानकारी दिए ।

पाण्डेले भने, ‘आज ४ जनाको कार्यदल बनेको छ । त्यसको नीति, आचारसंहितालगायतका कार्यक्रमहरु तय गर्ने काम कार्यदलले तयार पारेर ल्याउने छ । सामान्यतयाः यो मोर्चाकोअध्यक्षता एक जनाले ६ महिना गर्ने, त्यसपछि अर्को ६ महिना अर्को नेताले गर्ने सरसल्लाह भएको छ । त्यो सबै टुंगो पनि आउँदो बैठकले गर्नेछ । लगभग समझदारी त्यही छ । त्यो समझदारी टुंगो नहुन्जेल माधवकुमार नेपालले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।’

नेताहरुले मोर्चाको बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरु सहभागी थिए ।