ललितानिवास प्रकरणबारे कसलाई पक्रने कसलाई नपक्रनेबारे सोध्नु पदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा कसलाई समात्ने कसलाई नसमात्ने भन्ने बारे आफूलाई नसोधेर नै अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।
शुक्रबार बिहान हात्तीवनस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले ललितानिवास प्रकरणमा तथ्य र प्रमाण पुगेका जोसुकै भए पनि नछोडिने बताएका हुन् । उनले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका सबैलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आफूले निर्देशन दिएको पनि बताए ।
‘स्वतन्त्र र स्वच्छ अनुसन्धान गर्न निर्देशन दिएको छु । कुनै पनि व्यक्तिका विषयमा सरकारले सोच्दैन । जग्गा हिनामिना प्रकरणमा संलग्न कसैलाई पनि सरकारले छोड्नेवाला छैन, पक्राउ गरेर कारबाही अघि बढाइन्छ,ु गृहमन्त्री श्रेष्ठले भने । ललितानिवास प्रकरणको छानबिन र अनुसन्धानमा प्रहरीमाथि कुनै राजनीतिक हस्तक्षेप नभएको उनले बताए ।
मिटरब्याजी विरोधी अभियान रोकिँदैन
गृहमन्त्री श्रेष्ठले मिटरब्याजीविरुद्धको अभियान नरोकिने पनि बताए । सरकारले ल्याएको विधेयक एमालेका कारण निष्क्रिय भए पनि मिटरब्याजीविरुद्धको अभियान जारी रहने र पीडितलाई न्याय दिलाएरै छोड्ने उनले बताए । ‘अहिलेसम्म मिटरब्याजसम्बन्धी १३ सय मुद्दामा मिलापत्र भइसकेको छ । बाँकी रहेका पीडितलाई न्याय दिलाइन्छ,’ उनले भने ।
मिटरब्याजसम्बन्धी कयौँ मुद्दामा अदालतले पीडकको पक्षमा फैसला गरेको आफूहरूले भेटेको उनले बताए । ‘कयौँ मुद्दामा अदालतबाट पीडकको पक्षमा फैसला भएको पाइएको छ,’ उनले भने, ‘अहिलेको सरकारको लक्ष्य पीडितलाई न्याय दिलाउने र पीडक भनिएकाहरूमाथि कारबाही गर्ने नै हो । मिटरब्याजसम्बन्धी समस्या अन्त्य नभएसम्म यो अभियान रोकिँदैन ।’
कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित
गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गरे । भ्रष्टाचार र कमिसनलाई राजनीतिक नेतृत्वले संरक्षण गरेको वा राजनीतिक नेतृत्वकै संलग्नता हुने गरेको उनको भनाइ छ ।
‘भ्रष्टाचार र कमिसनमा राजनीतिक संरक्षण र संलग्नता छ । यसलाई नहटाएसम्म सुशासन र समृद्धिको कुरा पूरा हुँदैन । यसका लागि आन्तरिक सुशासन पहिलो हो, जसको सुरुवात सरकारले गरेको छ,ु उनले भने । सुशासनका लागि आफूले गृहमन्त्री भएकै दिन सुराकी खर्च कटौती गर्ने निर्णय गरेको गृहमन्त्री श्रेष्ठले बताए ।
सरुवा बढुवामा हुने आर्थिक चलखेललाई शून्यमा झार्छु
गृहमन्त्री श्रेष्ठले प्रहरीको सरुवा बढुवामा हुने चलखेल बन्द गर्ने बताए । प्रहरी सरुवा(बढुवा हुने आर्थिक चलखेललाई शून्यमा झार्छु । राजनीति भनसुनले अब सरुवा बढुवा हुँदैन,ु उनले भने, काम नगर्नेलाई तुरुन्तै सरुवा गरेर काम गर्ने मान्छे पठाउँछु ।’
आफूले सुशासन कायम गर्न खोज्दा पनि मन्त्रीहरूले नै २६ जना आफ्ना पीओसोलाई बढुवाका लागि सिफारिस गरेको उनले बताए । ‘मैले सुशासनको अभियान थालेको छु । तर, क्याबिनेटमै रहेका मन्त्रीहरूले २६ जना पीओसोलाई बढुवाका लागि सिफारिस गर्नुभयो । नियमले पुगेका आफैँ बढुवा हुन्छन् । तर, राजनीतिक सोर्सफोर्स अहिले पनि आउँछ,’ उनले भने ।
शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नैपर्नेछ
गृहमन्त्री श्रेष्ठले सरकारसँग शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व रहेको पनि बताए । ुसंक्रमणकालीन न्याय टुंगोमा पुगेको छैन । यसलाई पनि पूरा गर्नुछ , उनले भने । संक्रमणकालीन न्यायसँग जोडिएका कुराको टुंगो लागेपछि शान्ति प्रक्रियाको काम टुंगो लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: