Bagmati Samachar Logo

बागमती प्रदेश युवा सम्मेलन हेटौंडामा सुरु, सुझाबलाई प्रदेश सरकारले ग्रहण गर्ने : मन्त्री मुक्तान

हेटौंडा । दुई दिने बागमती प्रदेश युवा सम्मेलन आजबाट हेटौंडामा सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा दुई दिने सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले गरेकी हुन् । उनले यो सम्मेलन प्रदेश सरकारको पुँजीका रुपमा लिएको बताएकी छन् ।

दुई दिनको छलफलपछी प्रदेशका युवाहरुको सुझाबलाई प्रदेश सरकारले ग्रहण गर्ने उनले बताइन । युवाहरुलाई देशमा नै राख्नुपर्छ र सरकारले के गर्न सक्छौ त्यही गर्ने मन्त्री मुक्तानले बचन दिइन । प्रदेशभरीका युवाहरुका लागि नीति बनाउनका लागि यो कार्यक्रम प्रभावकारी रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले युवाहरुका लागि बजेट र नीतिमा प्रदेश सरकार देखीनुपर्ने बताए । प्रदेश सरकारले भइरहेका युवाहरुलाई यही रोक्ने र विदेशीएका युवाहरुलाई फर्काउने नीति ल्याउन सुझाब दिएका छन् ।

प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले यो मुलुकलाई राम्रो बनाउनका लागि युवाहरुको साथ आवश्यक रहेको बताए । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार १ सय ५० युवाको सहभागिता रहेको छ ।

प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका युवाहरु सहभागि भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यकहरु सम्मेलनमा सहभागि छन् ।

युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको उनले बताए । प्रथम पटक आयोजना भएको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोत व्यक्तिकोरुपमा सहभागी गराएको छ । सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोत व्यक्तिसंग अन्तरक्रिया गरेका छन् ।

दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतमले युवासँग अन्तरक्रिया गर्ने छन्। कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो । सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्ने छन्। त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन् ।

सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा. सुर्यस कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्ने छन् । डा. कार्की डाक्टर अनकल अनलाइनका सञ्चालक हुन भने साख्व युवा उद्यमी हुनुहुन्छ ।

यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गर्ने छन् । कार्यक्रमको उद्घाटन् सत्रमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण राणा लगायतकाको उपस्थिति रहेको छ ।