Bagmati Samachar Logo

बागमती प्रदेश सरकारमा ६ जना मन्त्री शपथ लिदै , कसलाई कुन मन्त्रालय

हेटौंडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ। लामो समयदेखि रिक्त ५ मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने भएको हो।

जसमा कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ मन्त्री बन्दै छन्। एकीकृत समाजवादीले दाबी गरेका २ मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने उक्त पार्टीको बागमती संसदीय दलका नेता कृष्ण शर्मा खनालले जानकारी दिए। एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्दै छन् ।

प्रदेश प्रमुखको कार्यालयमा ३ बजेका लागि नयाँ मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । यसअघि २ बजेलाई तोकिएको शपथ ग्रहण मुख्यमन्त्रीको आग्रहमा ३ बजे धकेलिएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउने छन् ।

सरकारमा हाल ६ जना मन्त्री छन् । आइतबार एक बिनाविभागीयसहित ६ जना मन्त्री नियुक्त हुँदैछ्न । जसमध्ये ५ जनालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशमा एक मन्त्रालय फुटाएर अर्को मन्त्रालय बनाउने राजनीतिक सहमति भएको छ । बिनाविभागीय मन्त्री पाउनेमा नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार छन् । उनको जिम्मेवारी पछि तोकिने जनाइएको छ ।

कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । एकीकृत समाजवादीबाट डा। राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय तोकिएको छ ।

आज नियुक्त हुने ६ नयाँ मन्त्रीसहित बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय हुने भएको छ । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १४ सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाएका थिए ।

गठबन्धनमा भागवण्डा नमिल्दा उनी आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएका छन् । बागमतीमा ६–४–२ को भागवण्डा लागेको छ । कांग्रेसले ६, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिएका छन् । कांग्रेसबाट यसअघि २६ चैतमा संसदीय दलका नेता बहादुर सिं लामा आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री भएका थिए ।

माओवादी केन्द्रबाट गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री, कुमारी मुक्तान सामाजिक विकासमन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए । बागमतीको मन्त्रालय भागवण्डा विवाद ४ चैत साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलाएका थिए ।