Bagmati Samachar Logo

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोप लागेका खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

यो प्रकरणमा खाँणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारी इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुररायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।

पक्राउ पुर्जी जारी भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी भने अहिले फरार छन् । त्यस्तै पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

यही प्रकरणमा आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थपसम्बन्धी आदेशमा उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो ।