ख
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ राष्ट्रिय महाधिवेशन (आज) फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा सुरु हुदै छ ।
एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएपछि अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन भएको छैन । एमालेका भातृ संगठनहरु अहिले महाधिवेशनमा होमिएका छन् । त्यसपमा विद्यार्थी महाधिवेशन आजबाट सुरु हुदै छ ।
देशभरीबाट १ हजार ५ सय ७९ जना प्रतिनिधि सहभागी हुने र हलबाट नयाँ नेतृत्व चयन हुने उपमहासचिव नारायण घर्तीले जानकारी दिए ।
एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएपछि अनेरास्ववियुको भेला बोलाएर नेतृत्व चयन गरिए पनि महाधिवेशन भने गरिएको थिएन । एमाले र माओवादीबीच एकता हुँदा तत्कालीन नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष ऐन महर थिए । एकता भंग भएपछि भेलाबाटै अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी थिइन् । बरालले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेर विदा लिने छन् ।
अध्यक्ष बराल प्रतिनिधिसभाको समानुपातिक सांसद भएपछि अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न लागिएको हो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि नै संगठनले विधान महाधिवेशनमार्फत ५०९ सदस्यीय केन्द्रीय कमिटीलाई घटाएर १९९ सदस्यीयमा कायम गरेको छ । ३० सदस्यीय पदाधिकारीलाई १७ सदस्यीय बनाउने विधान महाधिवेशनबाट पास भएको छ । अब तीन आमन्त्रित पदाधिकारी बनाइनेछ । असोज १, २ र ३ गते काठमाडौंमा भएको विधान महाधिवेशनले पारित गरेको घर्तीले बताए ।
अनेरास्ववियुको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, झपिन्द्र खत्री र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । लामो समयदेखि अखिलको राजनीतिमा सक्रिय रहेकाले आफू नेतृत्वको दाबी गरिरहेको लामिछाने बताउँछन् । ‘स्वाभाविक ढंगले ऐन महरले छोड्दा नै म अध्यक्षको दाबेदार हुँ । अहिले म वेटिङ अध्यक्ष हो । परिवर्तनका एजेन्डा बोकेको छु । अधिवेशनको हलले नयाँ नेतृत्व छान्ने छ । म त्यसको लागि उपयुक्त पात्र हो । मसँग अब कोही जुध्न आउनुहुन्न भन्ने लाग्छ । अहिलेको पुस्ताले मसँग कोही प्रतिस्पर्धा गर्न आउनुहुन्न भन्ने छ । त्यही भएर म सर्वसम्मत अध्यक्ष हुन्छु भन्नेमा ढुक्क छु,’ लामिछानेले भने ।
अध्यक्षको दाबेदार खत्री पनि लामो समयदेखि संगठनमा सक्रिय नेता हुन् । संगठन बुझेका र कार्यकर्तासंग राम्रो सम्बन्ध बनाउन सिपालु खत्री पनि आफू नेतृत्व लिन तयार रहेको बताउछन् । उनले भने, ‘अनेरास्ववीयुको सबै कमिटीको नेतृत्व गदै आएको हुँ । महाधिवेशनबाट कोषाध्यक्ष चयन भएको । पाटन क्याम्पसमा स्ववीयु सभापति भएको । स्ववीयु काउन्सिलको सचिव भएको । महाधिवेशनबाट उपाध्यक्ष भएको र अहिले अध्यक्षको दाबेदार हुँ । म अध्यक्षको पदको लागि मैदानमा उत्रेको छु । प्रतिनिधिहरुले मलाई नेतृत्वमा चयन गर्ने छन् ।’
अध्यक्षमा दाबी गरिरहेका महासचिव बडाल पनि संगठनको भावना र मर्म बुझेर नै नेतृत्वमा आएकाले अब एकपटक अध्यक्ष भएर हाँक्ने दाबी गर्छन् । महासचिव बडाल आफूले देशभरका विद्यार्थीको मनोभावना बुझेको, विद्यार्थीका हक हित, संगठन विस्तार र सुदृढ गर्न सक्षम रहेकाले अध्यक्षमा दाबी गरिरहेको बताउँछन् ।
‘विद्यार्थीहरूको हकहित र संगठनको भलाइका लागि मैले धेरै काम गरेको छु । संगठनलाई अझ चुस्त र दुरुस्त बनाउन यो महाधिवेशनबाट नेतृत्वमा आउने तयारी गरेको छु । अनेरास्ववियुको आन्दोलनमा लामो समय काम गरेर आएको हुँ । प्रतिकूल समयमा पनि मैले काम गरेँ । सिंगो विद्यार्थी आन्दोलन चुनौतीपूर्ण अवस्थामा छ । मैले आजसम्म जसरी काम गरेँ, त्यसलाई अब बढी राम्रो बनाउन नेतृत्वमा दाबी गरिरहेको छु,’ उनले भने । अध्यक्षमा लामिछाने र बडालसँगै हालका उपाध्यक्ष झपीन्द्र खत्री र लोकेश निरौलाले पनि दाबी प्रस्तुत गरिरहेका छन् ।
अध्यक्षमा नै अरु दुई जना पनि दाबेदार रहेका छन् । जसमा मोति विक र उमेश आचार्य ।
यसैगरी, अध्यक्षपछिको अर्को महत्त्वपूर्ण पद महासचिवमा पनि धेरै आकांक्षी देखिएका छन् । महासचिवमा हालका उपमहासचिवहरू नारायण घर्ती,सुर्दशन सिवाकोटी, गोविन्द गिरी, भाष्कर खनाल, नरेश रोकाया र धर्म गिरीले दाबी गरिरहेका केन्द्रीय सदस्य रामलाल राजवंसीले बताए । उनले भने, ‘यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष, महासचिव, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा १७ जना पदाधिकारी र अन्य पदाधिकारी र केन्द्री सदस्यको चयन गर्ने छ ।’
घर्तीले महासचिवमा लागि आफ्नो दाबी स्वाभाविक भएको बताउँछन् । ‘आकांक्षी हुनु स्वाभाविक हो । तर, अहिलेसम्म गरेको कामको मूल्याङ्कन गर्ने हो भने म नै निर्विकल्प महासचिव हुँ,’ घर्तीले भने ।
संगठन र आउँदो स्ववियु निर्वाचनमा आफू अब्बल नेतृत्व सावित हुने भन्दै नेताहरू प्रचार–प्रसारमा लागेका छन् । महाधिवेशनलगत्तै स्ववियु निर्वाचनको तयारी जुट्नुपर्नेछ ।’ नयाँ नेतृत्व स्ववियुको निर्वाचनको तयारीमा होमिनुपर्नेछ । हामीले स्ववियु निर्वाचनमा पनि अब्बल सावित हुनुपर्नेछ । शिक्षा क्षेत्रमा भएका विकृति विसंगतिलाई हटाएर अगाडि बढ्ने योजना छ,’ घर्तीले भने ।
अनेरास्ववीयुले विधान महाधिवेशन पहिला नै गरि सेककाले यो महाधिवेशन नेतृत्व केन्द्रीत रहने छ । नेतृत्वको लागि सर्वसम्मत गरेर जाने कि निर्वाचनद्धारा जाने भन्ने विषयमा अहिलेसम्म पनि निर्णय नभएको घर्तीले बताए ।
उपाध्यक्षमा प्रकाश भुजेल,एलबी सिंह, मर्यादा विष्ट, किरण सापकोटा, पंकज भण्डारी र दिपेश प्रसाईले दाबी गदै आएका छन् ।
सचिवमा सबै भन्दा बढी दाबेदार रहेका छन् । जसमा राजेश नेपाली ,आरके रोमस, अन्जना सिवाकोटी, सुरेश भट्टराई, सन्जय दवाडी, सरोज पोखरेल, सजिना थापामगर, रिता ढकाल, मदन विष्ट, कृष्ण बम,मनोज ताम्ली, सुरेश अधिकारी र ईन्द्र पौडेलले दाबी गदै आएका छन् ।
कोषाध्यक्षमा प्रदिप जीसी, प्रजोल फुयालले दाबी गदै आएका छन् ।
भेलाबाट ठूलो संख्यामा पदाधिकारी र केन्द्रीय कमिटी बनाएको अनेरास्ववीयुले यो महाधिवेशनबाट संख्यात्मक रुपमा धेरै कम बनाउने भएको छ । धेरै नेताहरु संगठनबाट विदाई हुने छन् । तर पार्टी नेतृत्वले अध्यक्षमा सर्वसम्मत गराएर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचन गर्ने सम्भावना रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: