गुल्मी २ मा गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री २ हजार मतले पराजित
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। उनले २८ हजार ४७६ मत ल्याए। उनकी निकटतम प्रतिद्धन्द्धी रामकुमारी झाक्रीले २६ हजार ४४२ मत पाएकी छन्।
विष्टले नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार ३४ मतले पराजित गरेका हुन्।
गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित भएका हुन्। विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीलाई पराजित गर्दै आफ्नो विरासत जोगाएका हुन्।
२०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए। एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादीकी सचिव झाँक्रीले राम्रै टक्कर दिए पनि विष्ट नै विजयी भए।
झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चाको समेत समर्थन रहेको थियो।
विष्टसँगै संघको उम्मेदवारी दावेदार शेषकान्त गौतमले एमाले छाडेर झाँक्रीलाई साथ दिने घोषणासँगै गुल्मी २ मा ठूलै हलचल भएको थियो।
प्रतिक्रिया दिनुहोस्: