एक बर्षदेखि बादलमाथि लागेको ‘कालो बादल’
काठमाडौं । एमालेले चितवनमा २८ कात्तिकमा चुनावी आमसभा आयोजना गरेको थियो । उक्त कार्यक्रमका प्रमुख वक्ता थिए– अध्यक्ष केपी ओली । दोस्रो वक्ता थिए– उपाध्यक्ष रामबहादुर थापा बादल ।
उपाध्यक्ष थापाको गृहजिल्ला पनि हो चितवन । यसअघिका चुनावी चहलपहल र सभामा कतै नदेखिएका बादल गृहजिल्लाको सभामा देखिए । त्यसपछि पनि गुमनाम छन् । गतबर्ष चितवनमा भएको एमालेको महाधिवेशनमा प्रमुख व्यवस्थापक थिए बादल । त्यस महाधिवेशन पछि बादल माथि कालो बादल नै लागेको छ । कतिपयले बादलको असन्तुष्टिसँग पनि जोडेका छन् । एमालेका १९ पदाधिकारीमध्ये ४ जनामात्रै चुनावी मैदानमा ओर्लिएका छैनन्, त्यसमा ३ जना त उपाध्यक्ष नै छन् । त्यसमध्येका एक हुन्– बादल । चुनाव नलडेका उपाध्यक्ष बादल पछिल्लो समयमा सक्रिय देखिदैनन् ।
गुमनाम भए बादल
४ मंसिरको चुनावका लागि बादल २८ कात्तिकमा चितवनको मञ्चमा मात्र झुल्के । जब कि यो बीचमा एमालेले देशभर चुनावी आमसभा गर्यो । तर कहिँ कतै बादलको उपस्थिति रहेन । ओलीको छनोटमा परेनन् वा आफैँ जान चाहेनन्, त्यो अहिले पनि पार्टीमा खासै चर्चा नभएको एमालेका एक केन्द्रीय सदस्य बताउँछन् ।
ओलीले झापादेखि दार्चुलासम्म चुनावीसभा गरे । यसबीचमा ओलीले दार्चुला, जुम्ला, सुर्खेत, धनगढी, पोखरा, धरानमा चुनावी सभालाई सम्बोधन गरे । तर बादल कहिँ कतै साथमा देखिएनन् । गत वर्ष हरेक दिन सार्वजनिक कार्यक्रममा सँगै हुने ओली–बादल यो चुनावी अभियानमा चितवनबाहेक कहिँ कतै पनि सँगै देखिएनन् ।
ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आयोजना गरिएका हरेक सभामा बादल ओलीसँगै वक्ता हुन्थे । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बादलले सम्बोधका क्रममा प्रचण्डलाई दक्षिणपन्थी अवसरवादी भनेका थिए । ओलीलाई नायकको रुपमा चित्रित गर्थे ।
बादल एमालेका लागि नेकपा विभाजन हुँदा जति महत्त्वका थिए त्यसपछि विस्तारै महत्त्व कम हुँदै गएको एमालेका केन्द्रीय सदस्य तथा पूर्वमाओवादीका एक नेता बताउँछन् । उनले भने, ‘हिजो माओवादीलाई गाली गर्न , आफूसँग माओवादी भएको देखाउनु थियो र बादलको आवश्यकता थियो । अहिले त्यो अवस्था छैन । अनि किन बोकुन त ओलीले बादललाई रु’
प्रतिनिधिसभा निर्वाचनमा चुनावका लागि ओलीले बादललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिडाउन खोजेका थिए । बादलले पनि आफू चितवनबाट चुनाव लड्ने घोषणा गरेका थिए । २०७८ असोज ८ गते प्रेस चौतारीले चितवनमा आयोजना गरेको कार्यक्रममा बादलले चितवनबाट चुनाव लड्ने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्ला, त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’
त्यो समयमा राजनीतिक स्टन्टका लागि चितवनबाट चुनाव लड्ने घोषणा गरेका बादलको चुनावप्रति भने मोह देखिँदैन थियो । उनी सकेसम्म समानुपातिकमा बस्न चाहन्थे ।
२०६४ सालमा चितवन २ बाट प्रत्यक्ष चुनाव लडेका थिए । तर अन्तिम समयमा आएर बादल चितवनबाट चुनाव लड्न चाहेनन् । एमालेले उनलाई काठमाडौं १० बाट उम्मेदवार बनाउन चाह्यो । तर बादलले हार्ने डरले लड्न नचाहेको एमालेका नेता बताउँछन् ।
सम्पूर्ण राजनीतिक दल र त्यसका नेताहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेको छ । तर एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुमनाम छन् ।
एमाले अध्यक्ष ओलीले उनलाई नसोधेर नै उनको श्रीमती नैनकला थापालाई महिलाको जनजाति कोटामा समानुपातिकमा पहिलो नम्बरमा राखेको बताइन्छ । आफू बस्न चाहेको समानुपातिकको सिटमा ओलीले श्रीमती थापालाई राखेपछि बादल असन्तुष्ट बनेको चर्चा एमालेमा रहेका पूर्वमाओवादी सुनाउँछन् ।
एमालेका केन्द्रीय सदस्य तथा पूर्वमाओवादीले भने, ‘समानुपातिकमा बादलले बस्न चाहेका थिए । तर अध्यक्ष ओलीले बादललाई नै नसोधी नैनकला थापाको नाम राखेपछि समस्या आएको छ । बादलमा पनि समस्या छ । चुनावी प्रक्रियामा आएपछि हिम्मत गर्नुपर्छ । गर्नु हुन्न अनि नबोलेर बस्दा हुने यस्तै हो । यो एमाले पार्टी हो । जहाँ पार्टीभित्र त चुनाव हुन्छ ।’
ुजनयुद्धुमा धेरै मिथक बनेका बादललाई संसदीय राजनीति फलिफाप भने भएको मान्न सकिन्छ । पहिलोपटक चुनाव लडेर जिते । रक्षा मन्त्री बने । २०६९ तिर माओवादी केन्द्र विभाजनको प्रमुख पात्र बने । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन बहिस्कारको प्रमुख बने । कञ्चनपुरमा प्रचण्डमाथि बम हान्न लगाए । २०७४ सालभन्दा पहिला नै मोहन वैद्यलाई छोडेर एक समूह लिएर माओवादीमा फर्के । प्रचण्डको विश्वास जितेर २०७४ मा राष्ट्रियसभा सदस्यमात्र भएनन्, माओवादी तर्फबाट सरकारको नेतृत्व गरेर गृहमन्त्री भए ।
सशस्त्र युद्धबाट स्थापित भएका बादलको चितवनमा खासै जनाधार नभएको त्यहीँका एमाले नेताहरू बताउँछन् ।राजनीतिका खेलाडी ओलीले बादल मन्त्रीबाट हटेपछि नैनकलालाई सञ्चार मन्त्री बनाएका थिए । जसको कारण बादल माओवादीमा फर्कने बाटो बन्द होस् भन्ने रणनीति थियो । तर थापाको मन्त्री पद पनि १३ दिनमा नै सकियो अदालतको आदेशबाट ।
चुनावबाट भागेर नेता हुने कुरा अहिलेको परिस्थितिमा नहुने एमाले केन्द्रीय सदस्य कृष्ण केसी बताउँछन् । उनले भने, ‘चुनावमा लड्नु पर्छ । यसबाट भागेर संसदीय व्यवस्थामा नेता भइँदैन । नेता हुन त संसदीय अभ्यास गर्नुपर्छ । ढोकामा आएर कसैले नेता बनाइदिँदैन ।’
गत मंसिरमा चितवनको सौराहमा भएको महाधिवेशनबाट एमालेको उपाध्यक्ष निर्वाचित भए पनि राजनीतिक रूपमा बादल भूमिकाबिहीन जस्तै छन् । अहिले भने उनी सबैजसो कार्यक्रममा अनुपस्थित रहन्छन् । यो उनको बाध्यता हो कि एमालेमा उनको उपयोगिता सकिएको हो रु पार्टीको बैठकमा उपस्थित हुने र चितवनको कार्यक्रममा देखिए पनि बादल लगभग एमालेमा गुमनाम छन् ।
माओवादीको स्कुलिङमा हुर्केका बादल एकलौटी रुपमा एमालेको संगतमा पनि भिज्न नसकेको पूर्वमाओवादी नै स्वीर्काछन् । बादलले माओवादी पृष्ठभूमि भूल्ने कोसिश नगरेका पनि होइनन्, जसको उदाहरण हो गत वर्ष धादिङमा आयोजित कार्यक्रममा गणतन्त्र एमालेका कारण आएको बताएका थिए ।
वैशाख २५ मा चितवनमा भएको एमालेको स्थानीय तह लक्षित चुनावीसभामा बादलले यसपटकको स्थानीय तह निर्वाचन देशभक्त र देशघातीबीचको संघर्ष भएको बताएका थिए । उनले एमालेलाई देशभक्त र कांग्रेस(माओवादीलाई देशघातीको संज्ञा दिएका थिए ।
स्थानीय तहको चुनावसम्म केही स्थानमा भाषण गरेका बादल अहिले भने पूरै गुमनाम रहे । एमालेका एक केन्द्रीय सदस्य तथा पूर्वमाओवादीले भने, ‘उहाँ यस्तो भयो उस्तो भयो भनेर छलफल गर्नु हुन्न । मैले केही समय पहिला भेटेको थिएँ । यो चुनावमा जेजस्तो भयो लाग्नुहोस् पछि हेर्दै गरौँला भन्नुभयो । त्यो भेटमा उहाँ सन्तुष्ट भने देखिनु भएन । तर अगाडिको बाटो के हो त्यो पनि भन्नु भएन ।’
मौनतामा बादल
कम बोल्ने बादल राजनीतिमा भने सधैँ चर्चामा रहन्छन् । माओवादी(एमाले एकता हुनुभन्दा पहिला नै माओवादीको नेतृत्त्व गरेर सरकारको गृहमन्त्री बनेका थिए । माओवादी(एमाले एकतापछि बादल ९ जनाको सचिवालय सदस्यमध्ये एक थिए । नेकपाको विवादमा उनी सधैँ मझधारमा बसे । न प्रचण्डसँग खुले न ओलीतिर । नेकपा हुँदा जति चर्चामा थिए, बादल नेकपा विभाजनपछि झन चर्चामा रहे । कारण थियो– पूर्वपार्टी माओवादी छोडेर एमालेमा जानु।
ओली सरकार बर्हिगमनमा परेसँगै राजनीतिक रुपमा सत्ता गठबन्धन भर्सेस एमाले बन्यो । त्यतिबेला बादल खुवै चर्चामा थिए । त्यस्तो हुनुमा एमाले बादलको अनुहार देखाएर माओवादी आर्कषित गर्न चाहन्थ्यो । त्यसैकारण, बादललाई एमालेले माओवादी ुजनयुद्धु लडेका नेता आफ्नो पार्टीमा भएको भन्दै आमसभाको आइकन नै बनायो ।
ुजनयुद्धु लडेका माओवादी आफूसँग भएको भन्दै एमाले अध्यक्ष ओलीले सरकार छोड्नुभन्दा पहिला र पछि बादलको प्रयोग धेरै गरे । अझ एमालेमा नै राख्दा आफूपछि अथवा वरिष्ठ उपाध्यक्ष दिने बचन ओलीले दिएको पनि बताइन्थ्यो । तर महाधिवेशनबाट एमालेमा बादल वरीयताक्रममा ५ औं नम्बरमा छन् । स्थानीय चुनावमा बादललाई चितवनमा एक दुई ठाउँमा बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्: