निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि तोसिमा अदालत जादै
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरी दिएपछि ललितपुर क्षेत्र नम्बर ३ को राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की अदालत जाने भएकी छिन् ।
निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ ।
पदको लाभ लिइरहेको भन्दै आयोगले शनिबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
दाबी विरोधको समय सकिएपछि अधिकृतको कार्यालयले निर्णय गर्न पाउँदैन । अधिकृतको कार्यालयले निर्णयको लागि फाइल आयोगको केन्द्रीय कार्यालयमा पठाएको थियो ।
निर्वाचन आयोगको निर्णय निष्पक्ष नभएको भन्दै त्यसका विरुद्ध उनी अदालत जाने भएकी छन् । आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ तोसिमाले फेसबुकमा लेखेकी छन् ।
तोसिमाले फेसबुकमा लेखेकि छन्
निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा रहेको छ । यद्यपि, त्यसमा थप स्पष्ट हुन मैले न्याय क्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरूसँग परामर्श गरेको थिएँ । उहाँहरू सबैबाट मासिक रूपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएँ । २०७९र०५र२८ मितिमा ९मनोनयनको २५ दिन अगाडि नै० एक सचेत र जिम्मेवार उम्मेदवारको भूमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ । तर, निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन । यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ति मतहरूलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो ।
समय सकिएपछिको उजुरीलाई आधार मानेर आफैँले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु । जसरी उजुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नुपर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।
ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु । सम्पूर्ण मेरा समर्थक तथा शुभचिन्तकज्यूहरूलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिनहुन अनुरोध पनि गर्न चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्: